2026 April 25/ 02:15: 32am

    काभ्रे/तामाङ चलचित्रको बजार व्यवस्थापन तथा गुणस्तरीय तामाङ चलचित्र सम्बन्धी तीन दिने कार्यशाला गोष्ठी रोशी गाउँपालिकाका अध्यक्ष डि.वि. लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
    प्रमुख अतिथि डि.वि.लामाले कला विनाको समाज अधुरो रहेको बताउँदैे कला र कलाकारहरुको सम्मान गर्न आवश्यक रहेको बताउनुभयो । समाजमा रहेका विकृती, विसंगति हटाई सचेत र समृद्ध समाजको निर्माणका निम्ति कला क्षेत्रले महत्वपूर्ण भूमिका निभाएको बताउनुभयो । तामाङ चलचित्र संघ नेपालका अध्यक्ष तथा कार्यक्रमका सभापति कुमार मोक्तानले तामाङ चलचित्र जगतमा अतुलनिय योगदान पु¥याउनु भएको स्वर्गीय कलाकार जयनन्द लामालाई स्मरण गर्दै आगामी दिनमा संघले अवार्डको नाम स्थापित गरी जयनन्द अवार्डबाट सम्मानित गर्ने योजना रहेको बताउनुुभयो । चलचित्र जगतको कलाकार र कलाकारको कलालाई जिवन्त राख्न संघले उक्त योजना राखेको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय तामाङ घेदुङ संघका महासचिव प्रवीण बल, प्राविधिक संघको अध्यक्ष पुष्कर लामा, वरिष्ठ कलाकार तथा नायक अमृत लामा, राष्ट्रिय संगीतकर्मी संघको अध्यक्ष विक्रम शाही लगायतको सहभागिता रहेको थियो । तामाङ चलचित्र संघ नेपालको आयोजना, चलचित्र विकास वोर्डको सह–आयोजनामा तीन दिने गोष्ठीमा कला क्षेत्रमा आवद्ध कलाकारहरुलाई क्यामेरा, मेकअप र लाइट सम्बन्धी तालिम प्रदान गरिएको थियो भने तालिम समापन पछि प्रमाण पत्र वितरण गरिएको संघका महासचिव सुनिता लुङ्वाले जानकारी दिनुभयो ।