2026 April 25/ 02:42: 12am

विकास तिमल्सिना/पनौती
     पनौती नगरपालिकाले लागत साझेदारीमा लैनो गाई वितरण सुरु गरेको छ । पनौती नगरपालिका वडा नम्बर ३ कुशादेवीमा १० वटा गाई वितरण गर्दै कार्यक्रमको शुभारम्भ गरिएको हो । कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।
    कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले आफुहरु निर्वाचित भएर आएपछि किसानको जिवनस्तर उकास्ने कामलाई प्राथमिकता दिएको बताउनुभयो । नगरपालिकाका १२ वटै वडालाई विशेषताका आधारमा भैंसी पकेट क्षेत्र, गाई, बाख्रा, तरकारी र फलफुल लगायतका क्लस्टर निर्धारण गरि कार्यक्रम अघि बढाइएको उहाँले जानकारी दिनुभयो । नगरपालिकाले सुरु गरेको जनतामुखी कार्यक्रमको प्रतिफल देखिन थालेको समेत नगर प्रमुख न्यौपानेले बताउनुभएको छ । कार्यक्रमका विशेष अतिथी तथा उप–प्रमुख गिता बञ्जाराले नगरपालिकाले सुरु गरेको कार्यक्रमले जनताको मुहारमा खुसी ल्याएको बताउनु भयो । अन्य पेशाको तुलनामा कृषि पेशामा आवद्ध नगरवासीमा घरेलु हिंसा कम देखिएको समेत उहाँले जानकारी दिनुभयो । कृषि पेशालाई सम्मानित पेशाको रुपमा आर्थिक आर्जन गर्ने प्रमुख स्रोत बनाउन नगरपालिका निरन्तर लागेको  उप–प्रमुख बञ्जाराले बताउनु भयो । त्यसै गरी नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारीले जनताको जीवनस्तर उकास्न किसानमुखी कार्यक्रमलाई ल्याइएको बताउनु भयो । उक्त  कार्यक्रमले आर्थिक अवस्था बलियो बनाएको अधिकारीले बताउनुभयो । आफ्नो पेशालाई दिगो, आयआर्जनको मुख्य स्रोत र व्यवसायीकता तर्फ अघि बढ्न नगरपालिकाले अघि सारेका कार्यक्रम सफल भएको वरिष्ठ प्रशासकीय अधिकृत अधिकारीको दाबी छ । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पुर्व सहायक डिन निलम कुमार शर्मा, पनौती नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष किशोर थापा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा वडा नम्बर ३ मा २४ वटा गाई वितरण गरिने कृषि तथा पशुपक्षीं शाखा प्रमुख मणिप्रसाद सापकोटाले जानकारी दिनुभएको थियो ।  सापकोटाले विपन्न, एकल र व्यवसायीक रुपमा कृषि पेशामा लागेका नगरबासीहरुलाई विशेष प्राथमिकता दिएको जानकारी दिनुभयो । पनौती नगरपालिकाले वडा नम्बर ३, ८ र १० लाई गाई पकेट क्षेत्र निर्धारण गरेको छ । नमुनाको रुपमा गत वर्ष ४० वटा गाई वितरण गरिएको थियो । यो वर्ष ६० वटा गाई वितरण गर्ने योजना रहेको कृषि तथा पशुपक्षीं शाखा प्रमुख मणिप्रसाद सापकोटाले जानकारी दिनुभयो । बिमा, घाँसको विऊ, औषधि सहित एउटा गाइको मुल्य करिव ८३ हजार परेको छ । लागत मुल्यको ६० प्रतिशत रकम संघ सरकार, प्रदेश र नगरपालिकाले व्यहोरेको छ भने ४० प्रतिशत किसानले तिरेका छन् । पनौती नगरपालिकाले यसअघि ९ सय ५६ वटा भैंसी वितरण गरिसकेको छ भने भैंसी सुत्केरी भत्ता समेत दिँदै आएको छ । यो कार्यक्रमको देशका अन्य स्थानीय तहले समेत अनुशरण गरेका छन् । भैंसी संरक्षण कार्यक्रम प्रभावकारी देखिएपछि लागत साझेदारीमा लैना गाई वितरण सुरु गरिएको नगरपालिकाले जनाएको छ ।