धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्वर १२ शंखुमा निर्माण भएको जेष्ठ नागरिक भवन धुलिखेल नगरपालिकालाई हस्तान्तरण गरिएको छ । शहरी विकास तथा भवन कार्यालय काभ्रेले धुलिखेल नगरपालिकालाई उक्त भवन हस्तान्तरण गरेको हो । सरकारी स्तरबाट निर्माण भएको उक्त भवन जिल्लाकै पहिलो हो । संघ र प्रदेश सरकारको सहयोगमा उक्त भवन निर्माण भएको हो ।
नगरपालिका प्रमुख अशोक ब्याञ्जुले उक्त भवनलाई जेष्ठ नागरिकहरुको आश्रम स्थलका रुपमा विकास गरिने बताउनु भयो । भवन निर्माण भए पनि अन्य संरचना निर्माणको कार्य बाँकी रहेकाले आगामी वर्षमा त्यसलाई संचालनमा ल्याईने नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । ५ करोड लागतमा निर्माण भएको उक्त भवन इन्जिनियर गणेशबहादुर महर्जनले नगर प्रमुख अशोक ब्याञ्जुलाई भवन हस्तान्तरण गर्नु भएको थियो । नगर प्रमुख अशोक ब्याञ्जुले उक्त भवन वडा अध्यक्ष हर्कबहादुर तामाङलाई हस्तान्तरण गर्नु भएको थियो ।









