2026 April 25/ 02:15: 34am

    बनेपा/काभ्रेको बनेपा पुलबजार नजिक अरनिको राजमार्गमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय गरेको छ । ‘नो एमसीसी, खतरा’ लेखेर बाल्टिनलाई रातो झोलाभित्र बेरेर सडकमा राखिएको उक्त बस्तुलाई नेपाली सेनाको कालीजंग गण धुलिखेलबाट खटेको सहसेनानी अजय परियारको टोलीले निष्क्रिय पारेको हो ।
    यसैबिच, सडकमा उक्त शंकास्पद वस्तु राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग आबद्ध महाभारत गाउँपालिका ६ का युगान्त थिङ रहेका छन् । साथै सोहि ठेगानाका विकेश थिङ्ग पनि पक्राउ परेका छन् । बिहान साढे ७ बजेतिर सडकमा उक्त वस्तु राखेको भन्दै प्रहरीले मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्राराज जोशीले घटनाको  थप अनुसन्धान भइरहेको बताए ।
    सडकमा शंकास्पद वस्तु भेटिएपछि सवारी साधन आवागमन अवरुद्ध भएको थियो । सेनाले उक्त वस्तु निष्क्रिय गरेसँगै अहिले भने अरनिको राजमार्गमा सवारी साधन सञ्चालन आएका थिए । संसद्बाट एमसीसी अनुमोदन भएसँगै विरोधमा आह्वान भएको बन्दका कारण ठाउँ ठाउँमा हिंसात्मक गतिविधिसमेत हुन थालेको छ । बन्दका कारण जनजीवन प्रभावित भएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित विभिन्न ६ कम्युनिस्ट दल र २ मोर्चाले नेपाल बन्दको घोषणा गरेका हुन् ।