2026 April 25/ 02:15: 15am

    धुलिखेल/२०७८ बैशाख २४ गते विवाह भएकी नातिनीको हत्या गरिएको भन्दै आफन्तले प्रदर्शन गरेका छन् । जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिन आफन्त प्रर्दशन सहित उपस्थित भएका थिए ।
    पाँचखाल नगरपालिका वडा नम्वर ५ खावा घर भएकी २२ बर्षिया स्वस्तिका तिमल्सिनाको २६ बर्षिय जयराम घिमिरेसँग मागि विवाह भएको थियो । स्वस्तिका ७ महिनाकी गर्भवति थिईन् । पीडितका आफन्तले श्रीमान जयराम घिमिरेले कुटपिट गरेर हत्या गरी घटना लुकाउन घर नजिकै रहेको कुुखुरा फर्ममा लगेर झुण्डाएको आरोप लगाएका छन् । स्वस्तिकाको माईती पनौती नगरपालिका वडा नम्वर ९ का छिमेकी सुरज हुमागाईले आफु घटनास्थल पुग्दा स्वस्तिकालाई मारेर झुण्डाएको जस्तो देखिएको बताउनु भयो । पीडितले हत्यारालाई कारवाहीको माग गर्दै श्रीमान विरुद्ध किटानी जाहेरी दर्ता गरेका छन् ।
    जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशीले घटनाका बारेमा अनुसन्धान गर्न मृतक स्वस्तिकाका श्रीमान जयराम घिमिरेलाई नियन्त्रणमा लिईएको बताउनु भयो । पीडितहरुले हत्या गरेको अभियोगमा किटानी जाहेरी दर्ता गर्नु भएको छ’–एसपी चक्रराज जोशीले भन्नुभयो–‘आफन्तहरुले शव बुझेर पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाईएको छ । हत्या वा आत्महत्या अनुसन्धानबाट खुल्नेछ ।’ आफन्तका अनुसार मृतक स्वस्तिकाले हरेक दिन राति माईती घरका हजुरबुबा हेमनाथ तिमल्सिनालाई फोन गर्ने गर्थिन् । घटनाको अघिल्लो दिन अर्थात फागुन १४ गते राति ११ बजे स्वस्तिकाका श्रीमान् जयरामले हेमनाथलाई फोन गरेका थिए । हेमनाथले नातिनीलाई कुरा गर्न फोन दिनु भन्दा निदाएको छ भनेकाले घटना त्यहि बेला भईसकेको हुन सक्ने परिवारको आशंका छ ।
    मृतक स्वस्तिकाको आँखा मुनि गालामा गहिरो घाउ देखिन्छ । शरीरका केहि भागमा निलडाम समेत रहेकाले घटना कर्तव्य हुन सक्ने आंशका गर्दै किटानी दिएको आफन्त उद्धव तिमल्सिनाले बताउनु भयो । हत्या अभियोगमा आशंका भएकालाई तत्काल कारवाहीको माग गर्दै आफन्तले आईतबार फागुन १५ गते साँझ मात्रै शव उठाउन दिएका थिए ।