2026 April 25/ 02:15: 14am

    धुलिखेल/विद्यालय, मन्दिर, खोला, सडक, वनलाई क्षति पु¥याउँदै स्थानीयको विरोधका बाबजुत अदालतको आदेश पछि तीन वर्ष देखि संचालनमा आएको बनेपा नगरपालिका १४ स्थित आशापुरी रोडा ढुङ्गा सप्लार्यसले सुरक्षा नअपनाउँदा टिपरमा ढुङ्गा भरिरहेका बेला ढिस्को खस्दा भाग्दै गरेका चालक किचिएका छन् । चालकको घटनास्थलमै निधन भएको प्रहरीले बताएको छ ।
    रामेछाप जिल्ला शैलुङ्ग गाउँपालिका ४ घर भई प्रदेश ३००००३ क ५७४८ नम्वरको टिपर चलाउँदै आएका चालक श्याम मगर आईतबार दिउँसो १ बजे ढुङ्गा राख्दै गरेको अवस्थामा खानीको ढिस्को खसेका कारण भाग्दै गर्दा खानीमै भएको निशान प्रदेश ३–०१–००३ क ९९७० ले किचिएको प्रत्यक्षदर्शी मिनबहादुर खपाङ्गी मगरले बताउनु भयो । खपाङ्गी मगर सोहि खानीमा ढुंङ्गा लिन जानु भएको थियो । ‘चालक श्यामको पालो आउँदै थियो, उनलाई मैले छाडिदिएँ’–मिनबहादुर खपाङ्गी मगरले भन्नुभयो–‘उहाँको स्थानमा म पुरिने थिएँ । सँगै भएको साथी आँखै अगाडी गुमाउनु पर्दा दुःख लागेको छ ।’ आईतबार दिउँसो ११ बजे पनि उक्त खानीमा ढिस्को खसेको थियो । खानीका प्राविधिक तथा अन्य कर्मचारीहरुले अवस्थाको आंकलन नगरी निरन्तर ढुंङ्गा टिपरमा भरिरहेका कारण श्याम मगरको निधन हुन पुगेको मजदुरहरुले बताएका छन् ।
    खानीमा दुईवटा स्काभेटर, पाँचवटा टिपर र दुईवटा निशान पुरिएका छन् । ढिस्को पुरिँदा स्काभेटर चालक समिर तामाङ र सह चालक रमेश सार्की घाईते भएका छन् । घाईतेहरुको मध्यपुर ठिमीमा उपचार भईरहेको छ । उक्त खानीको जोखिम अध्ययन नगरी खानी संचालन नगर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनु भयो ।
विवादित जग्गामा खानी
२०६८ साल पुष १८ गते खानी तथा भु–गर्भ विभागको च.न ९१६ मा दर्ता भएको आशापुरी रोडा ढुंगा सप्लायर्स प्रालिलाई जिल्ला विकास समितिले २०६८ पुष २० गते हरेक वर्ष नविकरण गर्ने गरी अनुमति दिएको थियो । अनुमति लिई कार्य शुरु गरे लगत्तै स्थानीयहरुले खानी संचालन हुँदा विद्यालय, मन्दिर, खोला, सडक, वनलाई क्षति पु¥याउने भन्दै रोक लगाउन माग गरेका थिए । खानीसँग यि सबै क्षेत्र जोडिएका छन् । स्थानीयको मागलाई सर्वाेच्चले शुरुमा रोक लगाए पनि पछि संचालनको आदेश जारी ग¥यो । सर्वाेच्चको आदेशका आधारमा बनेपा नगरपालिकाले तीन वर्ष अघि खानी संचालनका लागि ठेक्का लगाउने सूचना जारी ग¥यो । तर पनि स्थानीयहरुले विवादित जग्गामा खानी संचालन गरेको भन्दै विरोध गर्दै आएका थिए । अहिले पनि जग्गाको विवाद सर्वाेच्च अदालतमा विचाराधिन छ । खानी संचालनको अनुमति विभागले एकै पटक १५ वर्षका लागि दिएको थियो ।
खानी संचालनका लागि कम्पनीका नाममा ६५ रोपनी जमिन खरिद भएको छ भने स्थानीय टुल्कु लामा, सन्तकुमार लामा, सोनाम लामा, उद्धव लामा र सुरेन्द्र सुवालका नाममा रहेको ७५ रोपनी जमिन मावलीको अपुताली आफ्नो हुनुपर्ने भन्दै साविक भुमेडाँडा गाविसका बलबहादुर तामाङ, संजय तामाङ र विरबहादुर तामाङले दुषित बदरको मुद्दा दर्ता गराएका हुन् । पाँच जना मिलेर आफ्नो हकभोग खोसी जग्गा दर्ता गरेको उनिहरुको आरोप छ । पाँच जनाले १० वर्षका लागि जग्गा भाडामा लगाएको थियो । जग्गाधनी टुल्कु लामाले चालु वर्षको अन्त्यबाट कम्पनीलाई भाडामा दिएको जग्गाको अवधी सकिने बताउनु भयो ।
खानी दर्ता, संचालन क्रसर पनि
    खानी दर्ताको अनुमति लिएको आशापुरी रोडा ढुंगा सप्लायर्स प्रा.लीले खोलाकै छेउमै क्रसर संचालन गरेको छ । क्रसर र खानीका कारण ऐतिहासिक आशापुरी मन्दिर, विद्यालय, खोला, बन र सडकलाई असर परिरहेको छ । निरज थपलिया, भिम श्रेष्ठ, रवि श्रेष्ठ र रामहरी पाठकका नाममा दर्ता भएको खानी भए पनि निरज थपलियाले जिम्मेवारी लिई संचालन गरिरहेको कर्मचारी रामशरण बस्नेतले जानकारी दिनु भयो ।
    उक्त खानी र क्रसरबाट उत्पादित सामाग्री अरनिको राजमार्ग स्थित साँगा र भक्तपुरको सिमाना नयाँ बनेको झोलुङ्गे पुल मुनी सडक छेउमा थुपारेर सडकलाई क्षति बनाएको स्थानीयको आरोप छ । २०७२ को भुकम्प पछि देशभरका खानी र क्रसरहरु नविकरण भएका छैनन तर पनि संचालन भएका छैनन । समानान्तर निर्माण सेवाका म्यानेजिङ्ग डाईरेक्टर समेत रहेका निरज थपलियाले उक्त कम्पनी हेर्दै आएको कर्मचारी बस्नेतले बताउनु भयो । मृत्यु भएका चालकको श्रीमती र आफन्तहरुलाई घटनास्थलमा बोलाईए पनि अनुहार समेत नदेखाई अस्पताल लगिएको थियो ।