2026 April 25/ 02:15: 33am

    ज्याम्दी, मण्डनदेउपुर/मण्डनदेउपुर नगरपालिकाको वडा नम्वर १२ स्थित ज्याम्दीमा शहरी स्वास्थ्य सेवा केन्द्रको नगर प्रमुख टोकबहादुर वाइबाले उद्घाटन गर्नु भएको छ । भेगीय आवश्यकता हेरी नगरको वडा नं. १२ स्थित देउरालीमा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको नगर प्रमुख वाईवाले बताउनु भयो ।
    नगरपालिकाले जनस्वास्थ्यलाई थप सबलीकरण गर्न नेपाल सरकारले निःशुल्क उपलब्ध गराएको ३५ थरी औषधीका अलावा नगरपालिकाले थप औषधि खरिद गरेर वितरण गरेकाले लाभ लिन वडाबासीहरुलाई उहाँले आग्रह गर्नुभयो । स्वास्थ्य शाखा प्रमुख दिपक घिमिरेले नगरपालिकाको वडा नम्बर १, ४, ६ र ९ आधारभूत स्वास्थ्य केन्द्र र वडा नम्बर २ बालुवापाटी स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको बताउनुभयो । साथै उहाँले भौगोलिक दुरी र जनघनत्वका हिसाबमा वडा नं. १२ को देउराली, १० को चण्डेनी  र वडा नं. २ को नगरकोटमा सहरी स्वास्थ्य केन्द्र्र सञ्चालनमा ल्याउने अन्तिम तयारी रहेको पनि बताउनु भयो । नगरपालिकाको आधारभूत अस्पताल यसै महिना भित्र सञ्चालनमा आउने गरी निर्माण सम्पन्न भएको पनि उहाँले बताउनुभ भयो । कार्यक्रमको सभापतित्व गर्दै वडा अध्यक्ष गोविन्द पराजुलीले आफ्नो वडा भित्र स्वास्थ्य सेवा विस्तार गर्न पाएकोमा खुशी व्यक्त गर्दै सबैलाई सेवा लिन आग्रह गर्नुभयो । स्वास्थ्य सेवा केन्द्रबाट बिरामी जाँच, गर्भवती जाँच, पोषण सेवा, परिवार नियोजन सेवा लगायत स्वास्थ्यका आधारभूत सेवाहरु प्रदान गरिने अ.न.मि. शान्ति दनुवारले बताउनु भयो ।