दावी विरोध र त्रुटी सच्याउन ७ दिने म्याद
धुलिखेल/बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्ने कार्यसूची सार्वजनिक गरेको छ ।
आज फागुन १९ देखि २६ गतेसम्म मतदाता नामावली अद्यावधिक गर्ने, दाबी विरोध गर्ने, मतदाताहरुको त्रुटी सच्याउँदै शुद्ध मतदाता नामावली तयार गर्ने र मृत्यु भएका ब्यक्तिहरुको नामावली मतदाता सूचीबाट हटाउने गरी कार्यतालिका सार्वजनिक गरेको हो । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा आयोजित अन्र्तक्रिया कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी उमेश राईले कार्यतालिका सार्वजनिक गर्दै शुद्ध मतदाता नामावली तयार गर्न सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनु भयो । ‘आज फागुन १९ देखि २६ सम्म मतदाता नामावली सम्वन्धी दाबी विरोधका लागि निवेदन दिन सकिने छ । भोली फागुन २० देखि २३ सम्म मृत्यु भएका ब्यक्तिहरुको नामावली हटाउन निवेदन दिनुपर्ने आयोगले ब्यवस्था गरेको छ’–जिलल निर्वाचन अधिकारी उमेश राईले भन्नुभयो–‘वडा कार्यालयमा मतदाता नामावली टाँस भए लगत्तै जिल्ला निर्वाचन कार्यालयमा ईमेल र आफै वा अन्य मार्फत लिखित निवेदन दिन सकिने ब्यवस्था छ ।’ आयोगको बेभ साईटमा रहेको ईमेल, फ्याक्स मार्फत सबै प्रकृया पु¥याएर निवेदन दिन सकिने आयोगले ब्यवस्था गरेको जिल्ला निर्वाचन अधिकारी राईले बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आयोगले सार्वजनिक गरेको कार्यतालिका भित्र मतदाताहरुलाई आफ्नो नाममा त्रुटी भए सच्याउन, मतदाताका बारेमा कुनै सूचना भए प्रमाण खुल्ने आधार सहित दाबी विरोध दर्ता गर्न र शुद्ध मतदाता नामावली बनाउने अभियानमा सहयोग गर्न आग्रह गर्नु भयो । स्थानीय तहको निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउन सबै पक्षको समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भयो । आयोगले फागुन १९ गते ३ लाख १ जना मतदाताको नामावली प्रकाशन गर्दैछ । उक्त नामावलीमा त्रुटी सच्याउने, दोहोरो हटाउने, मृत्यु भएका ब्यक्तिको नाम हटाउने र दावी विरोध गर्न पाईनेछ । नयाँ नाम थप्न र सार्न नपाउने आयोगले बताएको छ । अन्र्तक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार, समन्वय अधिकारी भिमप्रसाद भट्टराई, कालीजंग गणका गणपति कर्णेल मिलन थापा, प्रहरी प्रमुख एसपी चक्रराज जोशी, शशस्त्र प्रहरी प्रमुख सुरेन्द्र बुढाथोकी, अनुसन्धान प्रमुख नगेन्द्र दाहाल, कार्यालय प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । आयोगले यस अघि मतदाता परिचय पत्र हराएकाहरुलाई फागुन २० सम्म वडाको सिफारिस सहित निवेदन दिन आब्हान गरेको छ ।









