2026 April 25/ 01:04: 51am

बनेपा/बनेपा नरपालिका वडा नम्बर ५ को आयोजनामा स्थानीय महिलाहरुका लागि उद्यमशीलता तथा सिप विकासका लागि ५ दिने झोला तथा सेनेटरी प्याड बनाउने तालिम शुरु भएको छ । 
तालिमको शुरुवात बनेपा नगरपालिका उप प्रमुख रेखा सापकोटा दाहालले एक कार्यक्रमका बिच गर्नु भएको छ । दाहालले नगरपालिकाले भौतिक विकाससँगै महिलाहरुका लागि नेतृत्व र क्षमता विकास, सिपमूलक तालिम, विकासमा समानता, किशोरी मैत्री नगरपालिका बनाउन लागिएको बताउनु भयो । नगरको १४ वटै वडामा किशोरीहरुलाई तालिम, महिलाहरुलाई नेतृत्व र क्षमता अभिबृद्धि तालिम प्रदान गरिएको बताउनु भयो । महिलाहरुलाई ड्राईभिङ्ग, सिलाई कटाई, बुनाई, डल्लो साबुन बनाउने, अचार बनाउने, कौसी खेती तालिम प्रदान गरि आत्मनिर्भर बनाउन लागिएको बताउनु भयो । नगरपालिकाले सामुदायिक विद्यालयका छात्राहरुलाई निशुल्क रि युज सेनेटरी प्याड उपलब्ध गराउदै आएको बताउनु भयो । दाहालले महिलाहरुले अरुले आरक्षण दिने मात्र नभई आफु पनि सक्षम र नेतृत्व लिन सक्ने हुनुपर्ने बताउनु भयो । 
कार्यक्रममा ५ नम्बर वडाका वडा अध्यक्ष बलराम अधिकारीले वडामा रहेका महिला दिदिबहिनीहरुलाई उक्त ५ दिने तालिम प्रदान गर्नु लागिएको बताउनु भयो । तालिम लिने मात्र नभई सदुपयोग गर्न र आत्मनिर्भर बन्न समेत सुझाव दिनुभयो । वडामा ५ वर्षमा विकासका धेरै काम गर्न सकिएको र अझै केहि अधुरै रहेकाले विकासमा चरणमा रहेको बताउनु भयो । तालिम पनि विकासको चरण भएकाले वडा ठुलो भएकाले भेगीय हिसाबमा तालिम प्रदान गरिने बताउनु भयो । 
कार्यक्रममा वडा सचिब राजु खत्री, वडा सदस्यहरु सागर मानन्धर, ज्ञानु मिजार, चण्डेश्वरी महिला समुहकी मिनु रंञ्जीत लगाएतको सहभागिता रहेको थियो । ५ दिनसम्म चल्ने तालिममा २८ जना महिला दिदिबहिनीहरुको सहभागिता रहेको छ । कार्यक्रममा सभापतित्व कार्यपालिका सदस्य तथा कार्यक्रम संयोजक उमा बैद्यले गर्नु भएको थियो ।