2026 April 25/ 01:04: 51am

बनेपा/शब्दयात्रा प्रकाशनले जिल्लाका सक्रिय दुई जना पत्रकारलाई २०७८ सालको ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’ प्रदान गरेको छ । 
गत शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित विशेष कार्यक्रममा  राजकुमार पराजुली र ज्ञानमणी नेपाल कालोटोपी लाई कदरपत्र प्रदान गरिएको थियो । 
शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य हरिगोपाल प्रधानको सौजन्यबाट प्रदान गरिने कदरपत्र ०६८ सालदेखि हरेक वर्ष काभ्रे जिल्लाका दुई जना सक्रिय पत्रकारलाई प्रदान गर्दे आएको जनाएको छ । 
मण्डनदेउपूर नगरपालिका १० का स्थायी वासिन्दा उनले लामो समय नेपाल समाचारपत्र दैनिकमा आबद्ध भएर पत्रकारिता गरेका थिए । हाल केन्द्रबिन्दु मिडियामा वरिष्ठ उपसम्पादक भएर काम गरिरहेका छन् भने पत्रकार पराजुली पनि विगत २ दशकदेखि पत्रकारितामा सक्रिय छन् भने उनी जिल्लाबाट राससमा कार्यरत छन् । 
कार्यक्रममा १० वर्षको उमेरमा करेन्ट लागेर एउटा हात गुमाएका विद्यार्थी सुजन कामीलाई रूपमति विकलाङ्ग छात्रवृत्ति प्रदान गरिएको थियो । 
कार्यक्रममा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले संस्थाका गतिविधिहरूको जानकारी गराउनु भएको थियो ।  शब्दयात्रा प्रकाशनले हालसम्म १७० वटा पुस्तकहरू प्रकाशन गरेको छ । संस्थाले हरेक वर्ष १८ विधामा सम्मान, ६ विधामा पुरस्कार र ३ विधामा छात्रवृत्ती प्रदान गर्दै आएको छ । ६ वटा जिल्लामा सम्पर्क कार्यालय रहेको यस संस्थाले आगामी वर्षदेखि ३ जना पत्रकारलाई सम्मान गर्ने जनाएको छ । 
कार्यक्रममा कदरपत्र प्रदान गर्ने क्रममा कार्यक्रमका सभापति शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले रुद्राक्षको माला, कदरपत्रका व्यवस्थापक हरिगोपाल प्रधानले उपहार र प्रमुख अतिथि शिक्षासेवी रामप्रसाद अधिकारीले कदरपत्र प्रदान गर्नु भएको थियो ।  
कार्यक्रममा शिक्षासेवी माधवप्रसाद आचार्यले उद्घाटन गरेको उक्त कार्यक्रमको सञ्चालन ‘शब्दसञ्चार’ साप्ताहिक रेडियो कार्यक्रमका प्रस्तोता शिव बन्जाराले गर्नु भएको थियो ।