नमोबुद्ध/नमोबुद्ध नगरपालिका वडा नं ११, कुरगाउँमा विभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ताले नेपाली कांग्रेसको सदस्यता लिएका छन् ।
वडा पार्टी कार्यालय उद्घाटन कार्यक्रममा एमाले, माओवादी, नेकपा (एस) लगायतका विभिन्न पार्टी परित्याग गरी ठूलो संख्यामा कांग्रेस प्रवेश गरेको वडा सभापति शंकरदेव भट्टराईले बताए । कांग्रेस केन्द्रीय सदस्य गणेश लामा, जिल्ला सभापति तिर्थ लामा, प्रतिनिधिसभा क्षेत्र नं १ का सभापति दिनेश लामा, नमोबुद्ध नगर सभापति कुन्साङ लामा, महासमिति सदस्य समेत रहेको भुम्लु गाउँपालिका सभापति दावा लामा, महासमिति सदस्य रोशन लामा लगायतका नेताहरुले कांग्रेसमा स्वागत गरेका थिए । कार्यक्रममा सो वडाको प्रतिनिधीत्व गर्दै १४ औं महाधिवेशनमा महासमिति सदस्य निर्वाचित रोशन लामालाई सम्मान गरिएको थियो । नमोबुद्ध–११ वाट क्षेत्रीय प्रतिनिधी निर्वाचित लामा महाधिवेशन प्रतिनिधी हुँदै सर्वसम्मत रुपमा महासमिति सदस्य भएका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई विजयी गराउन सबैले आफ्नो तहबाट काम गर्नुपर्ने बताए ।









