2026 April 25/ 12:24: 46am

पनौती/साहित्यकार ध्रुबकृष्ण ताम्राकारको मिराज नामक कथा संग्रहको लोकार्पण गरिएको छ । ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कार्यक्रमका प्रमुख अतिथि के के कर्माचार्य, साहित्यकार सूर्य लाकोजू र कथाकार ध्रुब ताम्राकारले कथा संग्रहको संयुक्त रूपमा विमोचन गर्नु भएको हो ।
     कार्यक्रममा बोल्दै प्रमुख अतिथि के के कर्माचार्यले कथा मिराज कथा संग्रह एक पठनीय कृति भएको बताउनुभयो । एक प्रसंगमा उहाँले कथा समाजका लागि लेखिने भएकोले कथाले समाजमा घट्ने घटनाहरूलाई सजिव ढङ्गले प्रस्तुत गर्नुपर्ने बिचार व्यक्त गर्नु भयो । त्यस्तै साहित्यकार सूर्य लाकोजूले पुस्तकका बारेमा आफ्नो विचार व्यक्त गर्दै कथाहरू पठनीय र सन्देहात्मक रहेको बिचार ब्यक्त गर्नुभयो । उहाँले कथाहरू यथार्थताको धरातलमा उभिएर सिर्जना गरिएको कारणले एघारवटै कथा जिवन्त रहेको बताउनु भयो । कथा, कविता, मुक्तक विधामा कलम चलाउँदै आएका सर्जक ध्रुब ताम्राकारको मिराज कथासंग्र्रहमा एघार ओटा कथाहरू संग्रहित छन ।  यसभन्दा अगाडि उनको प्रारम्भ र हृदयका उद्गार गरी दुइटा कविता संग्रह, भावनाका उत्सर्ग गीत संग्रह, स्पन्दन मुक्तक सङ्ग्रह र आँसुको कथा कथा संग्रह प्रकाशित छन । 
     कार्यक्रममा साहित्यकार तुयुकाजी ताम्राकार, विजयराम कर्माचार्य, कवि रामसुन्दर देउजा, उद्योग वाणिज्य संघ काभ्रेका अध्यक्ष राजेन्द्र पसक्षे, गीता दाहाल लगायतले मन्तब्य व्यक्त गरेका थिए । उक्त कथा संग्रह मिराज ट्रान्सवल्ड पब्लिकेशनले प्रकाशन गरेको हो ।