2026 April 25/ 12:24: 34am

    पनौती/विवाहको खर्च कटाउँदै स्वरोजगारका लागि तालिम र ब्यवसायका लागि सामाग्री उपलब्ध गराउँदै पनौतीका सुमेश थापा र नविना खड्का उदारणीय बनेका छन् । ‘विवाह दाईजो र भोज विना सकिएको छ’–दुलाहा सुमेश थापाले भन्नुभयो–‘विवाहमा हुने खर्च आर्थिक अवस्था कमजोर भएका ब्यक्तिहरुलाई निरन्तर आय आर्जन गर्न सकिने गरी तालिम र तालिम पश्चात ब्यवसाय गर्न ठेलगाडा र रिक्सा उपलब्ध गराएका छौं ।’ 
    प्रति रिक्सा ५० हजारका दरले १२ वटाको ६ लाख र अन्य गरी ७ लाख रुपैयाँ उक्त कार्यका लागि खर्च गरिएको सुमेशले बताउनु भयो । पनौती नगरपालिका वडा नम्वर ४ ज्यालापाटी घर भएका ३२ बर्षिय सुमेश सामाजिक र ब्यवसायिक ब्यक्ति हुनुहुन्छ । उहाँले सुमेश हार्डवेयर संचालन गर्नु भएको छ । पनौती ५ गैह्ीगाउँ घर भएकी नविना खड्काले श्रीमान् सुमेशको प्रस्तावमा सहमत जनाउँदै दाईजो र भोज नगर्ने बरु स्वरोजगारका लागि सहयोग गर्ने अभियानमा साथ दिएको बताउनु भयो । पनौतीमा रहेको छिमेकी सहकारी र युवाहरुद्वारा संचालन गरिएको सिर्जनशिल युवा समाजले यसको ब्यवस्थापन गरेको छ । माघ २९ गते विवाह गरेका समेश र नविनाले समाजमा उदाहरणीय कार्य गर्ने सोचका साथ सामाजिक सञ्जालमा आर्थिक अवस्था कमजोर भई आयआर्जन गर्न नसकेका ब्यक्तिहरुलाई सम्पर्क राख्न अनुरोध गरेको बताउनु भयो । 
    सिर्जनशिल युवा समाजका अध्यक्ष लक्ष्मण श्रेष्ठले आवेदन परेका १८ जनालाई पानीपुरी, मःम, चाउमिन, ससेज तथा अन्य परिकार बनाउन दुई दिनको निःशुल्क तालिम उपलब्ध गराईएको थियो । त्यसमध्ये अझै आर्थिक अवस्था कमजोर भई ब्यवसाय संचालन गर्न नसक्नेहरु मध्ये १० जनालाई पहिलो चरणमा ठेलगाडा र दुई जनालाई रिक्सा उपलब्ध गराईएको हो । ब्यवसाय शुरु गर्न रकम नहुनेहरुलाई छिमेकी बचत तथा ऋण सहकारी संस्थाको सदस्य बने लगत्तै विना धितो साक्षी राखेर १० हजार प्रदान गरिनेछ । सोहि रकमबाट ब्यवसाय शुरु गरी आम्दानी भएको मध्ये केहि रकम संस्थामा बचत गर्ने र मुनाफाबाट आफु जस्तै आर्थिक अवस्था कमजोर भएका ब्यक्तिहरुका लागि रिक्सा तथा ठेलगाडा किन्न सहयोग गर्ने गरी सम्झौता गरिएको सहकारीका अध्यक्ष सुबासचन्द्र थापाले बताउनु भयो । कसैले बीचमा ब्यवसाय छाडेमा उक्त रिक्सा वा ठेलगाडा संस्था मार्फत अर्काे ब्यक्तिलाई उपलब्ध गराईनेछ । प्राप्त गर्ने ब्यक्तिले विक्री गर्न पाउने छैन । 
    सोहि कार्यक्रममा बरबधुलाई बधाई तथा शुभकामना ब्यक्त गर्न नेपाली काँग्रेसका महामन्त्री गगन थापाको सहभागिता रहेको थियो । महामन्त्री थापाले समाज बदल्ने अठोट आफैबाट शुरु गर्नु पर्ने बताउँदै सुमेश र नविनाको उदाहरणीय कार्यको प्रशंसा गर्नु भयो ।