धुलिखेलले गर्यो स्वेच्छिक अवकाशमा शिक्षकलाई सम्मान र विदाई
धुलिखेल/धुलिखेल नगरपालिकाले शिक्षक दरवन्दी मिलान अन्र्तगत स्वेच्छिक अवकाशमा जान चाहने शिक्षकहरुका लागि कार्य अवधिका आधारमा थप रकम उपलब्ध गराएर स–सम्मान विदाई गरेको छ । राष्ट्रिय प्रणालीमा धुलिखेल नगरपालिका भित्र प्राथमिक तहमा कार्यरत शिक्षकहरुको दरवन्दी धेरै भए पछि नगरपालिकाले ब्यक्तिलाई भन्दा कोटालाई मात्रै अन्यत्र पठाउने गरी उक्त कार्यक्रम ल्याएको थियो ।
धुलिखेल नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा ८१ वटा दरबन्दी प्राथमिक तहमा धेरै थिए । ति मध्ये ४४ वटा मावि र निमावीमा मिलान गरिएको छ भने ३७ वटा धेरै थिए । नगरपालिकाले यस अघि १३ जना र विहिबार ३ जना गरी १६ जनालाई विदाई गरेको छ । अझै नगरपालिकाले २१ जना शिक्षकहरुको दरवन्दी मिलान गर्नु पर्नेछ । धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले नेपालमै पहिलो पटक धुलिखेलले दरवन्दी मिलान गरी शिक्षकहरुको ब्यवस्थापन गरेको बताउनु भयो । शिक्षमा गुणस्तर कायम गर्न, लामो अवधी सेवा गर्नु भएका शिक्षकहरुको सम्मान सहित विदाई गर्ने र शिक्षालाई निशुल्क बनाउने गरी कार्य गरिरहेको बताउनु भयो । विहिबार साढे ३२ वर्ष सेवा गर्ने आश्विन चौलागाईलाई ३ लाख, साढे ३१ वर्ष सेवा गर्ने उपेन्द्र कोईरालालाई २ लाख ५० हजार र ४० वर्ष सेवा गर्ने अनुशोभा श्रेष्ठलाई २ लाख रुपैया प्रदान गरिएको थियो । धुलिखेल नगरपालिका भित्रका विद्यालयमा कार्य गरेको सेवा अवधीलाई आधार मानेर नगरपालिकाले उक्त रकम उपलब्ध गराएको शिक्षा तथा खेलकुद शाखा प्रमुख माधव शर्माले बताउनु भयो ।
नगरपालिकाले स्थानीय सरकार गठन भएसँगै शिक्षा क्षेत्रको ब्यवस्थापनका लागि ऐन निर्माण गरी सोहि कानुन अनुसार दरबन्दी मिलान गरेको प्रमुख माधव शर्माले बताउनु भयो । नगरपालिका प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेलले स्वेच्छिक अवकाशले शिक्षकहरुको सम्मान बढेको बताउनु भयो । नगरपालिकाले स्वेच्छिक अवकाश लिन चाहने शिक्षकहरुका लागि आवेदन माग गरेको थियो । त्यहि आधारमा विदाई गरिएको नगरपालिकाले जानकारी दिएको छ । शिक्षक आश्विन चौलागाईले धुलिखेल नगरपालिकाले दरवन्दी मिलानको मोडल नमुना गरेको बताउनु भयो । ‘हामी धुलिखेल नगरपालिकाले गरेको दरवन्दी मिलानमा सन्तुष्ट मात्रै छैनौं, नेपालमै नमुना भएकोमा खुशी पनि छौं’–शिक्षक आश्वि चौलागाईले भन्नुभयो–‘धुलिखेल राष्ट्र र समाजप्रति जिम्मेवार बन्दै गुणस्तरीय र प्रभावकारी शिक्षा उपलब्ध गराउने गरेको प्रयास सहनीय छ ।’ कार्यक्रममा धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा, शिक्षा शाखा अधिकृत भोजकुमार ठकुरी, अशोक घिमिरे लगायतले धुलिखेल नगरपालिकाले गरेको नमुना अभ्यासका बारेमा जानकारी गराउनु भएको थियो ।
धुलिखेलमा कुपोषण अन्त्य गर्न पूर्व तयारी
धुलिखेल/धुलिखेल नगरपालिकाले स्वस्थ शहर निर्माण गर्न पाँच वर्ष मुनिका बालबालिकाहरुमा हुने कुपोषण अन्त्य गर्न पुर्व तयारी शुरु गरेको छ । उत्तल अभियानका लागि परिवार मुआक पद्धती समुदाय स्तरमा महिला स्वास्थ्य स्वंसेविकाको लागि एक दिने तालिम प्रदान गरिएको छ ।
तालिमको धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले उद्घाटन गर्नु भयो । तालिममा बोल्दै नगर प्रमुख ब्याञ्जुले धुलिखेल नगरपालिकालाई स्वस्थ शहर निर्माण गर्न बालबालिकामा हुने कुपोषण अन्त्यका लागि यो अभियान शुरु गरिएको बताउनु भयो । विरामी भए पछि उपचार गर्ने भन्दा विरामी हुनै नदिने गरी कार्यक्रमहरु तय गरिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । कार्यक्रममा स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेढाई, धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसी, सरोज थापा लगायतले कार्यक्रमका बारेमा प्रकाश पार्नु भएको थियो । धुलिखेलका सबै वडाहरुमा शुरु हुने उक्त कार्यक्रमबाट बालबालिकाहरुमा हुने कुपोषणको पहिचान गर्ने, कुपोषणको शंका लागे तत्कालै उपचारका लागि पठाउने र कुपोषण हुन नदिन आमा तथा बच्चाहरुका खानु पर्ने प्रोटिनयुक्त खानेकुराहरु खुवाउने विषयमा आमाहरुलाई जानकारी गराउने स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले बताउनु भयो ।
कुपोषण पहिचान गर्न आमाहरुलाई सिकाउने र टेप उपलब्ध गराईनेछ । सुक्ने र फुक्ने दुबै कुपोषणका लक्षण हुन् । अन्न, गेडागुडी, दाल, माछा, मासु, दुध, अण्डा, फलफुल, हरियो सागपात लगायतका खानेकुराहरु खुवाउँदा कुपोषण अन्त्य गर्न सकिन्छ । यो कार्यक्रम जिल्लाभर लागु हुने स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतमराज सेढाईले बताउनु भयो ।
धुलिखेलमा सामुदायिक कुकुरलाई रेबिज विरुद्धको खोप
धुलिखेल/धुलिखेल नगरपालिका पशुपंक्षी शाखाको आयोजनामा सामुदायिक छाडा कुकुरहरुको बन्ध्याकरण गरि रेविज विरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालन भएको छ ।
धुलिखेल नगरलाई रेबिज मुक्त नगरपालिका बनाउने उदेश्यले बर्षेनी बन्धाकरण तथा टोल टोलका छाडा सामुदायिक ५ सय वटा कुकुरहरुमा रेबिज बिरुद्धको खोप कार्यक्रम अन्तर्गत यो पटक एक सय भन्दा धेरै सामुदायिक तथा छाडा कुकुरहरुको बन्ध्याकरण गरिएको छ । कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्यान्जुले धुलिखेल नगरपालिकालाई हरेक क्षेत्रबाट स्वस्थ राख्न सामुदायिक कुकुरहरु मार्फत हुन सक्ने सम्भावित जोखिम न्युनिकरणका लागि यो अभियान महत्वपुर्ण रहेको बताउनु भएको थियो । प्राविधिक सहयोग नेपाल एनिमल वेयलफर रिसर्च सेन्टरले गरेको छ ।
देवीस्थानमा ६ करोडको पार्क बन्दै
धुलिखेल/पार्क नै पार्कहरुको शहरका रुपमा चिनिन थालेको धुलिखेल नगरपालिकाले पर्यटकिय तथा धार्मिक स्थल देविस्थानमा दोश्रो चरणको पार्क निर्माण शुरु गरेको छ । नगरपालिका प्रमुख अशोक ब्याञ्जुले पार्कको शिल्यान्यास गर्नु भएको थियो ।
शनिबार एक कार्यक्रमका बीच पार्क निर्माणको शिल्यान्स गर्दै नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेललाई हरेक क्षेत्रबाट सम्पन्न बनाउने गरी पार्क निर्माण गरिएको बताउनु भयो । स्वस्थ शहर बनाउने अभियान शुरु भएकाले स्वस्थ नागरिक तयार गर्न पार्क महत्वपुर्ण हुने बताउनु भयो । जिल्लाकै महत्वपुर्ण स्थान देविस्थानको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व भएकाले पार्कमा पहिलो चरणमा निर्माण गरिएका धेरै संरचनाहरुलाई थप मजबुत हुने गरी दोश्रो चरणको पार्क निर्माण शुरु गरिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । धुलिखेल नगरपालिका वडा नम्वर ८ र ९ को सिमानामा पर्ने उक्त पार्क २०७८ मसिर १५ सम्झौता गरिएको थियो । २०७९ मसिंर १५ भित्र सम्पन्न हुने उक्त पार्कको आयोजना लागत ५ करोड ९९ लाख ३८ हजार ६ सय २५ रुपैया रहेको छ ।
सोवर्ण भण्डारी जेभीले निर्माणको जिम्मेवारी प्राप्त गरेको निर्माण ब्यवसायी रामेश्वर थापा छन् । धुलिखेलमा ५० भन्दा धेरै पार्क निर्माण भईसकेका छन् ।









