सूचना ब्यवस्थित गर्न निर्देशन
धुलिखेल/जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले २९ बुँदे सेवाप्रवाह सुधार कार्ययोजना २०७८ जारी गरेको छ । सोहि कार्ययोजना अन्र्तगत मंगलबार धुलिखेलमा जिल्ला स्थित कार्यालयका सूचना अधिकारीहरुसँग सूचनाको हक कार्यान्वयन सम्वन्धी भएका कार्यहरुका बारेमा जानकारी लिदै सुधारका लागि सुझाव दिएको छ ।
‘सूचना अधिकारीहरुले कार्यालयको वेभसाईट अपडेट गरिएको छ कि छैन ध्यान पु¥याउन, उजुरी पेटिका र नागरिक बडापत्र तथा उजुरी प्रशासकका बारेमा कार्यालयमा के भईरहेको छ ध्यान दिन अनुरोध गर्दछु’–प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘चौमासिक प्रगति विवरण बुझाउन, सार्वजनिक सुनुवाई गर्न तथा सूचना अधिकारीहरुको नाम, फोटो र नम्वर सबैले देख्ने गरी कार्यालयमा राख्नु पर्छ ।’ जिल्ला प्रशासन कार्यालयले नागरिकहरुले अन्य कार्यालयहरुले सेवाप्रवाहका क्रममा भोग्नु परेका समस्या तथा गुनासाहरुको अनुगमन गर्न शुरु गरेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनु भयो । ‘हामीले सेवाग्राहिहरुको सहजताका लागि कार्यालयहरुले गरिरहेको काम र सेवाका बारेमा अनुगमन शुरु गरिसकेका छौं’–प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘नागरिकहरु प्रति जिम्मेवार बन्न सबै कार्यालयहरुले दायित्व पुरा गर्नु पर्छ ।’ सूचना अधिकारीहरुले प्राप्त गरेका सूचनाहरु दुरुपयोग नगर्न, अपख्याया हुने गरी गलत फाईदा लिने काम नगर्न प्रमुख जिल्ला अधिकारी पाण्डेले निर्देशन दिनु भयो ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले नेपालमा सूचनाको हक र यसका विभिन्न पक्षहरुका बारेमा सूचना अधिकारीहरुलाई जानकारी गराएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले विश्वमा र नेपालमा भएका अभ्यास तथा प्रचलित ऐन कानुन र सूचना अधिकारीले खेल्नु पर्ने भूमिकाका बारेमा जानकारी गराउनु भएको थियो । पनौती नगरपालिकाका बरिष्ठ प्रशासकिय अधिकृत ईन्द्र अधिकारीले सूचनाका लागि सहज हुने भए पनि दुख दिने नियतले सूचना माग्ने क्रम शुरु भएको बताउनु भयो । पशु भेटेरिनरी अस्पतालका अधिकृत राजकुमार हुमागाईले नागरिकहरुले सहजै प्राप्त गर्ने सूचना कार्यालयहरुले उपलब्ध गराईरहेको बताउनु भयो । अधिकांश सूचना अधिकारीहरुले कार्यालयले नै सूचना उपलब्ध गराउन कठिन भएकाले सूचना अधिकारीहरुलाई सूचना उपलब्ध गराउन कठिन भएको बताएका थिए । सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले सूचना अधिकारीहरुले जिम्मेवारीलाई सहज रुपले पुरा गर्न अनुरोध गर्नु भयो ।
जिल्ला प्रशासनका २९ बुँदे सुधार कार्ययोजना
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सेवाप्रवाह सुधारका २९ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ । शान्तिसुरक्षा तथा अपराध नियन्त्रण, प्रभावकारी सार्वजनिक सेवाप्रवाह ब्यवस्थापन, नयाँ नागरिकता वितरण तथा अभिलेख ब्यवस्थापन, नागरिकता प्रतिलिपि वितरण तथा अभिलेख ब्यवस्थापन, स्थानीय प्रशासन सम्वन्धी कार्यहरु, संघसंस्था दर्ता तथा नविकरण सम्वन्धी, मुद्दा तथा गुनासो ब्यवस्थापन, राहदानी, राष्ट्रिय परिचयपत्र, आर्थिक प्रशासन, द्वन्द्वपीडित तथा विपद पीडित राहत ब्यवस्थापन, विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन सम्वन्धी, बजार अनुगमन, सूचनाको हक कार्यान्वयन, मुआब्जा वितरण तथा विकास निर्माणमा समन्वय सम्वन्धी कार्यहरु कार्ययोजनामा समेटिएको छ ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सार्वजनिक सम्पती संरक्षण तथा अभिलेख ब्यवस्थापन, कार्यालय तथा कार्यकक्ष ब्यवस्थापन, सरकारी प्रदायकको सेवा प्रवाहको अनुगमन तथा मुल्यांकन, निर्देशन, परिपत्र तथा तोक आदेश कार्यान्वयन, विकास ब्यवस्थापन तथा सहजिकरण, विषयगत सचेतनामुलक कार्यक्रम ब्यवस्थापन, लागु औषध नियन्त्रण, कर्मचारी ब्यवस्थापन तथा क्षमता विकास, अनुगमन तथा मुल्यांकन, उजुरी तथा गुनासो ब्यवस्थापन, सुशासन तथा शासकीय प्रवन्ध, कोभिड १९ रोकथाम, नियन्त्रण, उपचार र निदान, भौतिक पूर्वाधार निर्माण तथा सुधार कार्ययोजना कार्यान्वयन, अनुगमन र मुल्यांङ्कन लगायतका कार्ययोजनाहरु समावेश गरिएको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कार्ययोजना अनुरुप सरल, सहज र प्रभावकारी कार्यसम्पादन तथा कार्य फछ्र्यौट गरी सेवाप्रवाह सरल, सहज र प्रभावकारी हुने बताउनु भयो ।









