2026 April 25/ 12:24: 36am

    बनेपा/वर्ड फ्लु भित्रन नदिन बनेपा नगरपालिकाले ब्यवसायी तथा सरकोकारवालाहरुसँग अन्र्तक्रिया गरेको छ । उपत्यकासँग जोडिएको बनेपा नगरपालिकाले साँगा र नालाबाट पशुपक्षी लिएर भित्रने र बाहिरिने सवारी साधनको चेकजाँच गर्ने तयारी गरेको छ । 
    ‘उपत्यकाका विभिन्न स्थानमा देखिएको वर्डफ्लु काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा भित्रन नदिन आवश्यक तयारी शुरु गरेका छौं’–बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादेले भन्नुभयो–‘नागरिकको स्वास्थ्य र ब्यवसायीहरुको हितका लागि सचेत छौं ।’ बनेपा नगरपालिका भित्र पशुपंक्षीको ब्यवसाय गर्नेहरुले तत्कालै नगरपालिका भित्र दर्ता गरी दायित्व पुरा गर्न नगर प्रमुख बादेले अनुरोध गर्नुभयो । प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतीले बनेपा नगरपालिकाको तयारीले मात्रै वर्ड फ्लु नियन्त्रण असम्भव हुने बताउनु भयो । ‘बनेपा नगरपालिकाले साँगा र नालामा क्वारेन्टाईन राख्यो भने पनि अन्यत्र नाकाहरु खुल्ला भएकाले बर्ड फ्लु नियन्त्रण सम्भव छैन’–प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतिले भन्नुभयो–‘वर्ड फ्लु नियन्त्रणका लागि नगरपालिकाले पुर्व तयारी गरिसकेको छ ।’ काठमाडौको गोकर्णेश्वरमा केहि दिन अघि वर्ड फ्लु फेला परेको भेटेरीनरी अस्पताल धुलिखेलका प्रमुख डा. मोगलप्रसाद शाहले बताउनु भयो । शाहले जिल्लामा विभिन्न नाकाहरु भएकाले सचेत रहन अनुरोध गर्नु भयो । विपी राजमार्गको मंगलटार, पनौतीको रयाले मानेदोभान, रविओपी, नाला, दोलालघाट, साँगा लगायतका क्षेत्रमा सर्तकता अपनाउनु पर्ने डा. शाहले बताउनु भयो । 
    नगरपालिकाले आयोजना गरेको सरोकारवालाहरुसँगको अन्र्तक्रिया कार्यक्रममा ब्यवसायीहरुले सबै क्षेत्र सचेत रहन सकियो भने मात्रै वर्ड फ्लु नियन्त्रण र भित्रनबाट रोक्न सकिने बताएका थिए । उपप्रमुख रेखा सापकोटा दाहाल, वडा अध्यक्षहरु सुर्यनारायण नापित, गौरी राउत, पशुपन्छी शाखाका रामसुन्दर सापकोटा लगायतले सिमा जोडिएको क्षेत्रमा सतर्कता अपनाउनु पर्ने बताएका थिए । ओहोरदोहोर गर्ने पशुपंक्षीको आरडिटी तथा पिसिआर परिक्षण गरी रोग पत्ता लगाउने तथा रोग पत्ता नलाग्दासम्म पशुपक्षी बोकेर आएका सवारी साधन र पशुपक्षीहरु क्वारेन्टाईनमा राख्ने विषयमा आवश्यक छलफल र तयारी गर्नु पर्ने सरोकारवालाहरुले बताएका छन् । कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले वर्ड फ्लुबाट सचेत रहन अपिल गरेको छ । कार्यक्रममा स्वागत मन्तव्य पशुपन्छी शाखाका पवन केसीले राख्नुभएको थियो ।