पनौती/पनौती नगरपालिकामा चालु आर्थिक वर्षमा १ सय ५० वडा पाडी वितरण गरिने भएको छ ।
भैंसी संरक्षण कार्यक्रम अन्तर्गत गत वर्ष सम्म नगरपालिकाले ८ सय ६ वटा पाडी किसानलाई उपलब्ध गराइसकेको छ । यो वर्षको पाडी वितरण कार्यक्रमको शुभारम्भ पनौती नगरपालिका वडा नम्बर ४ का १५ किसानलाई पाडी वितरण गर्दे पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले शुभारम्भ गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले भैसी संरक्षण कार्यक्रमबाट सकारात्मक प्रभावले आफुहरु उत्साहित भएको बताउनु भयो । जनताको समृद्धि कृषि क्षेत्रको विकास बाट मात्रै, सम्भव रहेको र अब यो कार्यक्रमलाई थप व्यवस्थित गर्ने न्यौैपानेले बताउनु भयो । न्यौपानेले पनौती नगरपालिकाले सुरु गरेको भैंसी संरक्षण कार्यक्रम प्रभावकारी भएको देखिएको बताउदै भैंसी संरक्षण अभियानकै कारण भैंसी आयात ६० प्रतिशतले घटेको छ भने भैंसीको संख्या र दुध उत्पादनमा उल्लेख्य वृद्धि भएको बताउनु भयो ।
पाडी वितरण कार्यक्रममा उप–प्रमुख गिता बञ्जाराले किसानको जीवनमा खुसी ल्याउन सफल भएको बताउनु भयो । त्यसै गरी प्रमुख प्रशासकिय अधिकृत प्रदिप पौडेलले नगरपालिकाले देशमा नै पहिलो पटक नयाँ कार्यक्रम गरिरहेकाले यसलाई उदाहणीय बनाउने बताएका छन । जनताको समृद्धि कृषि क्षेत्रको विकास बाट मात्रै, सम्भव रहेको वरिष्ठ प्रशासकिय अधिकृत इन्द्र प्रसाद अधिकारीले बताउनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय उप–प्रमुख मञ्जु गौतम, पनौती नगरपालिका उप–प्रमुख गिता बञ्जारा, प्रमुख प्रशासकिय अधिकृत प्रदिप पौडेल, वरिष्ठ प्रशासकिय अधिकृत इन्द्र प्रसाद अधिकारी, पनौती नगरपालिका वडा नम्बर ४ का वडा सचिव राजकुमार श्रेष्ठ, वडा सदस्य नकुल श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा कृषि तथा पशुपक्षीं शाखा प्रमुख मणि प्रसाद सापकोटाले जनप्रतिनिधि आएपछि नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ बाट भैंसी सुत्केरी भत्ता वितरण गर्दै भैंसी संरक्षण तथा संवद्र्धन कार्यक्रम सुरु गरेको बताउनु भयो । पहिलो बेत सुत्केरी भएको भैंसीलाइ ५ हजार र अन्य बेत सुत्केरी भएकालाई २ हजारका दरले नगरपालिकाले किसानलाई भैसी सुत्केरी भत्ता उपलब्ध गराएको थियो । पहिलो वर्ष पहिलो बेत व्याएका ४७ र अन्य बेत ब्याएका १७० वटा भैंसी पालक कृषकलाई भैंसी सुत्केरी भत्ता उपलब्ध गराइएको थियो । यस्तै २०७६÷७७ मा पहिलो बेत ब्याएका ९४ र अन्य बेतका ३५०, आर्थिक वर्ष २०७७÷७८ मा पहिलो बेत १ सय ५६ र दोस्रो बेतका ४ सय ८५ र चालु आर्थिक वर्षको हालसम्म पहिलो बेतका ४ सय ३३ र अन्य बेतका १५ सय ६५ वटा भैसी पालक कृषकलाई भत्ता उपलब्ध गराइएको सापकोटाले जानकारी दिनुभयो । पनौती नगरपालिकाले विस्तृत अध्ययन पश्चात कृषि क्षत्रको विकास विना किसानको समृद्धि सम्भव नभएको निष्कर्ष निकाल्दै भैंसी संरक्षण अभियानलाई थप व्यवस्थित बनाउँदै पाडी वितरण कार्यक्रम समेत सुरु गरेको थियो । आर्थिक वर्ष २०७६÷७७ बाट पाडी वितरण कार्यक्रम सुरु गरिएको हो । पहिलो वर्ष ३ सय वटा पाडी नगरपालिकाले उपहार स्वरुप किसानलाई वितरण गरेको थियो । यस्तै गत आर्थिक वर्ष २०७७÷२०७८ मा ५ सय ६ वडा पाडी वितरण गरिएको थियो भने चालु आर्थिक वर्षमा १ सय ५० वडा पाडी वितरण गर्ने नगरपालिकाको योजना छ ।
भैंसीको संख्या झण्डै ३५ सय बढ्यो, आयात भने ६० प्रतिशतले कमी
भैंसी संरक्षण कार्यक्रम सुरु हुनु पहिले नगरपालिकामा भैंसीको संख्या ४ हजार ७ सय ४७ थियो । अहिले यो संख्या बढेर ८ हजार २ सय पुगेको छ । यस्तै बाहिरबाट नगरपालिकामा भित्रिने भैंसीको संख्यामा समेत उल्लेख्य रुपमा कमी आएको शाखा प्रमुख मणि प्रसाद सापकोटाले जानकारी दिनुभयो । पनौती क्षेत्रमा भैंसी ब्यापार गर्दै आएका दिपेन्द्र पराजुलीका अनुसार अहिले भैंसी आयातमा ६० प्रतिशतले कमी आएको छ । किसानलाई भैंसी संरक्षणमा आकर्षित गर्नका लागि नगरपालिकाले अघि सारेका विभिन्न कार्यक्रमका कारण भैंसीको आयातमा कमी आएको छ भने भैंसीको संख्यामा समेत वृद्धि भएको छ ।
दैनिक दुध उत्पादनमा १५ हजार लिटरले वृद्धि, संकलन केन्द्र ५ पुग्यो
यसको प्रत्यक्ष प्रभाव दुध उत्पादनमा देखिएको छ । नगरपालिकाले भैंसी संरक्षण अभियान सुरु गरेपछि हाल दैनिक ४५ हजार लिटर दुध उत्पादन हुने गरेको छ । यसअघि दैनिक ३० हजार लिटर दुध उत्पादन हुदै आएकोमा नगरपालिकाको अभियानका कारण दैनिक १५ हजार लिटर दुध उत्पादनमा वृद्धि भएको हो । यस्तै नगरपालिकामा एउटा मात्रै ठुलो परिमाणमा दुध संकलन गर्ने केन्द्र रहेकोमा अहिले ५ वटा पुगेको कृषि तथा पशुपक्षीं शाखाले जनाएको छ । अझै कृषि क्षेत्रमा धेरै गर्न बाँकी रहेको कृषि तथा पशुपक्षीं शाखा प्रमुख मणि प्रसाद सापकोटाले बताउनु भयो ।









