भकुण्डेबेशी/नमोबुद्ध नगरपालिकाका कृषकहरुका लागि कृषि सामाग्री वितरण गरिएको छ ।
नगरपालिकाका नगर प्रमुख टी.पी शर्मा तिमल्सिनाले एक कार्यक्रमका बिच कृषकहरुलाई उक्त कृषि सामाग्री वितरण गर्नु भएको हो । नगर प्रमखु शार्माले कृषि सामग्री हस्तान्तरण गर्दै अनुदानमा प्राप्त सामग्रीको सही सदुपयोग गरेर कृषि विकासको क्षेत्रमा योगदान दिन आग्रह गर्नु भएको थियो । विगतमा पनि यसैगरी कृषि सामग्री वितरण गरिएको र यसलाई आगामी बर्षहरुमा पनि निरन्तरता दिने बताए । आयोजना बाहेक नमोबुद्ध नगरपालिकाले यस बर्षका लागि विनियोजन गरेको बजेटबाट पनि आवश्यक कृषि सामग्री वितरण गर्ने तयारी भइरहेको नगर प्रमुख शर्माले बताउनु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडा नं. ४ का अध्यक्ष उद्धवप्रसाद काफ्ले, वडा नं. ६ का अध्यक्ष कुलप्रसाद न्यौपाने, कृषि समितिका संयोजक एवं वडा नं. ९ का अध्यक्ष मेलवहादुर लामा, वडा नं. १० का अध्यक्ष रामकृष्ण उपाध्याय लगायतको उपस्थिती रहेको थियो । फलफुल तथा तरकारी मुल्य श्रृंखला विकास आयोजनाको चालु आर्थिक बर्षको कार्यक्रम अन्तर्गत कृषि सामग्रीहरु किसानहरुलाई वतरण गरिएको छ । किसानहरुका लागि ८० सेट इलेक्ट्रिक स्पेयर, २५ थान थोपा सिञ्चाई सेट, प्लाष्टिक पोखरी निर्माणका लागि २५ थान प्लाष्टिक सामग्री, तथा तरकारी खेती नमुना प्रदर्शनीका लागि ४७ वटा प्लाष्टिक पोखरी निर्माणको सामग्री वितरण गरिएको छ । यस्तै भकुण्डेबेशीमा रहेको कृषि उपज संकलन केन्द्रमा रहेका चारवटा स्टलका लागि तरकारी राख्ने क्रेट १०० वटा वितरण गरिएको छ । इलेक्ट्रिक स्पेयर ५० प्रतिशत अनुदान तथा अन्य सामग्री शतप्रतिशत अनुदानमा वितरण गरिएको हो । नमोबुद्ध नगरपालिकामा सञ्चालन भइरहेको फलफुल तथा तरकारी मुल्य श्रृंखला विकास आयोजनाअन्तर्गत चालु आर्थिक बर्षमा वडा नं. ३ र वडा नं. १० मा कृषि सिकाई केन्द्र स्थापनाको काम अघि बढेको छ भने भकारो सुधार कार्यक्रम सम्पन्न भएको छ ।









