2026 April 24/ 11:27: 04pm

    धुलिखेल/धुलिखेल नगरपालिकाको दशांै विधेयक अधिबेशनमा पेश भएका मध्ये तीनवटा विधेयक विहिबार बसेको बैठकले सर्वसम्मतबाट पारित गरेको थियो । प्रस्तुत भएका विधेयक उपर कसैको विरोध नभए पछि सभाका अध्यक्ष नगर प्रमुख अशोक ब्याञ्जुले सर्वसम्मत पास भएको घोषणा गर्नु भएको थियो । थप विधेयकहरु मंगलबार पास भएका छन् । 
    ‘नगरपालिकाको दशौ विद्येयक अधिबेशनमा पाँचवटा विधेयक पेश भएका थिए’–प्रमुख प्रशासकिय अधिकृत एवं सभाका सचिव तारानाथ लुँईटेलले भन्नुभयो–‘पेश भएका मध्ये नगरपालिकाको राजपत्र सम्वन्धी विधेयक २०७८, धुलिखेल नगरपालिकाको पशु स्वास्थ्य तथा पशु सेवा विधेयक २०७८ र आम सञ्चार विधेयक २०७८ सर्वसम्मतीले पास गरेको छ ।’ माघ २५ गते बस्ने अर्काे बैठकले स्थानीय सेवा बिधेयक २०७८, धुलिखेल नगरपालिकाको संगठन तथा ब्यवस्थापन सर्भेक्षण प्रतिवेदन २०७८ का बारेमा छलफल गरी निर्णय गर्नेछ । 
    स्थानीय सरकारहरुले आमसंचार विधेयक पास गरेको जिल्लामा पहिलो हो । ‘संविधान प्रदत्त विचार र अभिव्यक्ति स्वतन्त्रता एवं सुचूचित हुन पाउने नागरिक हकलाई सुनिश्चत गर्दै स्वतन्त्र, निष्पक्ष र व्यावसायिक सञ्चार माध्यमको दिगो विकास र प्रर्बद्धन एवम् सञ्चारकर्मीको स्वतन्त्रतालाई सुनिश्चित गर्न वान्छनीय भएकाले धुलिखेल नगरपालिका सभाले नेपालको संविधानको धारा २२६ (१) बमोजिम धुलिखेल नगरपालिका आमसञ्चार ऐन २०७८ पारित गरेको हो’–धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘पत्रकरिता क्षेत्रको संस्थागत विकास र श्रमजीवी पत्रकारको हितका लागि पत्रकार कल्याणकारी कोष स्थापना र सञ्चालन गर्न, उक्त कोषमार्फत् जेष्ठ पत्रकार सम्मानवृत्ति, श्रमजीवी पत्रकार छात्रबृति, तालिम, पत्रकार लेखनवृत्ति तथा पुरस्कार र पत्रकार विमा सञ्चालन गरिने छ ।’ नगर प्रमुख ब्याञ्जुले आमसञ्चार संस्थामा कार्यरत श्रमजीवी पत्रकार, कामदार र कर्मचारीहरू सम्बन्धी अन्य व्यवस्था प्रचलित कानून बमोजिम हुनेछ । 
    धुलिखेल नगरपालिकाले हालसम्म ८५ वटा भन्दा धेरै नियमावली, कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याएको प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेलले जानकारी दिनुभयो । विहिबार पारित भएको पशु स्वास्थ्य तथा पशु सेवा विधेयक २०७८ मा पशुको ओसारपसार मापदण्ड, महामारी लागेको क्षेत्रबाट पशुपंक्षी ओसारपसार गर्न रोक लगाउने जस्ता विषय विधेयकमा समेटिएको छ ।