2026 April 24/ 11:25: 11pm

हिउँ खेल्न जानेहरुको ओईरो
    बेथान्चोक/बेथान्चोक गाउँपालिकाका अधिकांश वडाहरुमा विहिबार राति देखि शनिबार विहानसम्म अविरल परेको हिमपातका कारण जनजीवन कष्टकर बन्यो । आईतबारबाट घाम लागेकाले जनजीवन सामान्य हुन थालेको छ । हिमपात भए लगत्तै हिउँसग रमाउन जाने आन्तरिक पर्यटकहरुको ओईरो लागेको थियो । 
    हिमपातका कारण बिजुली, खानेपानी लगायतका अत्यावश्यक सेवाहरु केहि दिन रोकिएका थिए । जिल्लाको अग्लो स्थान बेथान्चोक मन्दिरमा हरेक वर्ष दुई तिन पटक हिउँ पर्ने गरेको भए पनि बस्तिहरुमा परेको हिमपात धेरै समय नटिक्ने गरेको स्थानीय रामप्रसाद तिमल्सिनाले बताउनु भयो ।  २०२८ साल पछिको लामो र धेरै हिउँ परेको उहाँले बताउनुभयो । ‘धेरै वर्ष पछि बस्तिमा परेको हिउँ अडिएको छ’–उहाँले भन्नुभयो–‘शुक्रबार परेको हिमपात रमाईलो भए पनि शनिबार विहानै देखि परेको हिमपातका कारण जनजीवन कस्टकर बनेको छ ।’ स्थानीय होमस्टे ब्यवसायी कमल नेपालले हिमपातका कारण संचार सेवा समेत अवरुद्ध हुन पुगेको बताउनु भयो । ‘हिमपातका कारण विजुली, पानी मात्रै नभई सर्वसाधारणको खेतिपातीमा समेत असर पु¥याएको छ’– पर्यटन ब्यवसायी नेपालले भन्नुभयो–‘बेथान्चोकमा परेको हिउँ खेल्न आउनेहरुको संख्या पनि थपिन थालेको छ ।’ हिमपातका कारण ग्रामिण सडक अवरुद्ध भएको थिए भने मुख्य सडकहरुमा हिमपातका कारण सडक अवरुद्ध हुन नदिन गाउँपालिकाले आवश्यक तयारी गरेको थियो । हिमपातका कारण जेष्ठ नागरिक, दीर्घरोगी र बालबालिकाहरुलाई समस्या परेको थियो ।