भुम्लु/भुम्लु गाउँपालिकाका १४ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी र विद्यालयमा कार्यरत सहायक कर्मचारीहरुका लागि स्विटर र ज्याकेट निशुल्क उपलब्ध गराईएको छ । हजुरलाई नमस्ते परोपकारी संस्था मार्फत १४ विद्यालयका १ हजार ७० जनालाई ९ लाख ६५ हजार रुपैया बराबरको स्विटर र ज्याकेट उपलब्ध गराईएको हो ।
अभियान लिएर भुम्लु पुग्नु भएका स्थानीय तथा समाजसेवी हजुरलाई नमस्ते परोपकारी संस्थाका संयोजक ताराबहादुर कुँवरले भुम्लुका विद्यालयमा स्विटर, ज्याकेट वितरण गरिएको बताउनु भयो । ‘स्वास्थ्य शिविर, सडक निर्माण तथा सामाजिक अभियानमा स्थानीय सरकारसँग हातेमालो गर्दै यो पटक विद्यालयमा न्यानो कपडा उपलब्ध गराएको हुँ’–संयोजक कुँवरले भन्नुभयो–‘संस्थाको तर्फबाट ब्यक्तिगत खर्चमा भुम्लु गाउँपालिकाका १४ वटा विद्यालयका १ हजार ७० जनालाई स्विटर र ज्याकेट उपलब्ध गराएको छु ।’ भुम्लुका सेतिदेवी मावी रिठ्ठे, सेतिदेवी मावी चौबास, सेतिदेवी मावी काभ्रे, सेतिदेवी आधारभुत विद्यालय सापिङ्ग, जनजागृति प्रावि उर्लेनी, कालिदेवी प्रावी ठाढकोड्का, श्रीदेवी प्रावी कात्तिके, गणेश प्रावी मेलडाँडा, गोल्मादेवी प्रावि भारतिगाउँ, सेतिदेवी प्रावि अर्खाैले, दुधुगाउँ प्रावि चौबास, महादेव प्रावी पोखरीचौबास, नवजागृति प्रावी कोढ्का, बालउन्नती प्रावी सिम्थली रहेका छन् ।
अभियानमा कुँवरका छोरा फाल्गुण, छोरी सलिना, देविका थापा र बज्रबहादुर पहरी सहभागि हुनुहुन्थ्यो । सोहि अवसरमा विद्यालय तथा स्थानीयहरुलाई चिसोका कारण हातखुट्टा फुट्दा लगाउने क्रिम १३ सय थान निशुल्क वितरण गरिएको छ । सोहि संस्था मार्फत यस अघि भुम्लुका विभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिविर सहित राहत वितरण गरिएको थियो । संस्था मार्फत केहि दिनमै ५ सय थान स्विटर निशुल्क उपलब्ध गराउने संयोजक कुँवरले जानकारी दिनु भयो ।









