2026 April 24/ 10:27: 01pm

    धुलिखेल/धुलिखेल अस्पतालले बर्थिङ्ग सेन्टर अगाडी खेर गएको जमिनको उपयोग गर्दै ‘थेरापी गार्डेन’ निर्माण गरेको छ । गार्डेनको उद्घाटन सुत्केरी सजना श्रेष्ठ, दिपा भुजेल र धनकुमारी थापाले गर्नु भएको छ । 
    ‘विरामी मात्रै हैन, विरामीलाई भेट्न आउने र नियमित विरामीसँग बस्ने ब्यक्तिलाई समेत स्वस्थ राखिरहन थेरापी गार्डेन महत्वपूर्ण हुनेछ’–अस्पताल प्रमुख डा. रामकण्ठ माकजुले भन्नुभयो–‘यो गार्डेन गर्भवति र सुत्केरी महिला मात्रै नभई बच्चा र सुत्केरी आमालाई समेत उपयोगी बन्नेछ ।’ मातृ शिशु स्याहार पार्कका रुपमा समेत उक्त गार्डेनलाई निर्माण कार्य शुरु गरिएको छ । अस्पताल स्थापनाको केहि वर्ष पछि अस्पतालले फोहोर पानी प्रशोधन केन्द्र स्थापना गरेको थियो । अहिले पार्क निर्माण भईरहेको क्षेत्र त्यहि फोहोर पानी प्रशोधन गरिरहेको क्षेत्र हो । धेरै वर्ष पछि अस्पतालले खेर गईरहेको फोहोर पानी प्रशोधन केन्द्रको जमिनलाई गार्डेनका रुपमा विकास गरेको हो । थेरापी गार्डेन उद्घाटन कार्यक्रममा स्त्रि रोग विशेषज्ञ प्रो. डा. सुमन ताम्राकार, प्रो. डा. आभा श्रेष्ठ, ईन्जिनियर राजाराम पराजुली, पुनमराज भण्डारी, दिपा केसी लगायतले गार्डेनको महत्व र आवश्यकताका बारेमा जानकारी गराउनु भएको थियो । 
    पार्कको अघि अस्पतालको सुत्केरी महिलाहरुको उपचार गराउने भवन छ । जसलाई अस्पतालले बर्थिङ सेन्टरका रुपमा विकास गरिरहेको छ । गर्भवति भई सुत्केरी हुन आएका महिलाहरुलाई केहि समय थेरापी गराउन, सुत्केरी भईसकेका महिला र बच्चाहरुलाई तेल लगाउन तथा विरामी कुरुवाहरुलाई समेत थेरापी गर्न उपयुक्त हुने गरी प्राकृतिक रुपकै थेरापी पार्क निर्माण गरिएको हो । ३० लाख रुपैया खर्च हुने उक्त पार्कमा चराचुरुङ्गीको स्वर, खुल्ला स्थानमा प्राप्त हुने अक्सिजन तथा खोला बगेको पानीको आवाज लगायतका प्राकृतिक सौदन्र्य सहितका संरचनाहरु निर्माण हुनेछन् । पार्क निर्माण पछी भुक्षय रोक्ने, ढल ब्यवस्थापनमा सहजता हुने र फोहोर पानी प्रशोधन सहित खेर गएको जमिन संरक्षण हुनेछ । थेरापी पार्कको क्षेत्रफल २ रोपनी भन्दा धेरै छ ।