धुलिखेल/जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले अदालतबाट कैद तथा जरिवाना ठहर भई फरार रहेका युवालाई पक्राउ गरेको छ । माघ ४ गते साँझ विशेष प्रहरी टोलीले साविक चलाल गणेशस्थान गा.वि.स. वडा नं. ३ हाल बेथानचोक गाँउपालिका वडा नं. ४ बस्ने वर्ष २५ को फौदे भन्ने पोते तामाङ र निलबहादुर तामाङलाई नियन्त्रणमा लिई अदालतमा बुझाईएको प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाले बताउनु भयो ।
२०६९ कार्तिक ८ गते काभ्रेपलाञ्चोक चलाल गणेशस्थान गा.वि.स. वडा नं. २ स्थित गणेश निम्न माध्यमिक विद्यालयको साँस्कृतिक कार्यक्रममा आएका मानिसहरुमध्ये काभ्रेपलाञ्चोक जिल्ला च्यासिङ्गखर्क गा.वि.स. वडा नं. ०९ का मानिसहरु र चलाल गणेशस्थान गा.वि.स. वडा नं. ०३ का मानिसहरु बिच झगडा हुँदा झगडाको क्रममा काभ्रेपलाञ्चोक जिल्ला च्यासिङ्गखर्क गा.वि.स. वडा नं. ०९ बस्ने वर्ष १८ को एन्जल तामाङलाई फौदे भन्ने पोते तामाङ समेतले धारिलो हतियार छुरा, लाठ्ठी मुक्का प्रहार गरी कर्तव्य गरेको मुद्दा दर्ता भएको थियो ।
ईलाका प्रहरी कार्यालय बनेपाबाट मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान पश्चात अभियोग जिल्ला अदालत काभ्रेपलाञ्चोकमा दायर गरिएको थियो । २०७४ असार १४ गते अदालतको फैसलाले फौदे भन्ने पोते तामाङलाई २० वर्ष कैद सजाँय ठहर गरिएको थियो । उनै फरार रहेका फौदे भन्ने पोते तामाङलाई प्रहरीले पक्राउ गरेको हो । त्यस्तै काभ्रेपलाञ्चोक जिल्ला साविक चलाल गणेशस्थान गा.वि.स.वडा नं. ३ हाल बेथानचोक गाँउपालिका वडा नं.४ बस्ने वर्ष ३३ को निलबहादुर तामाङलाई जिल्ला भक्तपुर दुधपाटी स्थित स्थानीय मिठाई पसलमा आफ्नो वास्तविक पहिचान लुकाई बसेका थिए । श्रीमती र बालबच्चा समेत सोही मिठाई पसलमा राखी बिगत ९ वर्ष देखि कामकाज गर्दै आईरहेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
अवैध घरेलु मदिरा नियन्त्रण
माघ ४ गते जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटि गएको विशेष प्रहरी चेकिङ्ग टोलीले काभ्रेपलाञ्चोक जिल्ला अन्तर्गतको अरनिको र बि.पि. राजमार्ग आसपासका होटल पसलहरुमा रात्रीकालिन व्यापारीहरुले बिक्री बितरणको लागि राखिएको अबैध घरेलु मदिरा ५ सय २५ लिटर नियन्त्रणमा लिई स्थानीय रोहवरमा आन्तरिक राजश्व कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा बुझाई आवश्यक कानूनी प्रकृया पश्चात सुरक्षित स्थानमा नष्ट गरिएको छ ।









