पनौती/पनौती नगरपालिका पुरानो बजारको कौलाछे टोलमा पनौतीको संस्कृति झल्कने पन्ती कम्युनीटी कौलाछे(पनौती सामुदायीक) खाजा घर संचालनमा आएको छ ।
उक्त कौलाछेको पनौती नगरपालिका प्रमुख भिम न्यौपानेले एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको छ । न्यौपानेले उक्त खाजाघरको प्रशंसा गर्दै महिलाहरुको सामुहिक लगानीमा पुराना संस्कृतिहरुको संरक्षण र प्रबद्र्धन गर्ने उद्देश्यले संचालनमा आएकोले सञ्चालकहरुलाई धन्यबाद दिनु भएको थियो । नगरपालिकाले पनौती नगरमा यस्ता सँस्कृति झल्कने र आफ्नो सम्पदा जोगाउन गर्ने कुनै पनि कार्यक्रमहरुमा नगरपालिका सहयोग गर्न तयार रहेको बताउनु भयो । नगरपालिकालाई नै सम्पदाको सुचिमा राख्ने कार्य अन्तिम चरणमा पुगेकाले सबै नगरबासीहरुले आफ्नो सम्पदा जोगाउन लाग्नुपर्ने बताउनु भयोे । प्रमुख भिम न्यौपानेले पनौती नगरपालिकामा लाग्ने मकर मेलामा सम्पूर्ण भक्तजनहरुलाई सुरक्षाको मापदण्ड पालना गरी स्नान गर्न समेत आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा कौलाछेका सञ्चालक सरिता अमात्यले आफ्नै टोलका दिदीबहिनी मिलि नेवारी परम्पराको खाजा घर संचालन गरिएको बताउनु भयो । खाजा घर रमा फाछी श्रेष्ठ, दिब्या श्रेष्ठ, सरिता अमात्य, रुपा जोशी मिली सञ्चालनमा ल्याएको बताउनु भयो ।
हामी शिक्षित भएर पनि घरमै मात्र सिमित हुनु परेकाल र आफ्नो सिपलाई समेत प्रयोगमा ल्याउन, घरमा काम गरी बाँकी रहेको समयलाई सदुपयोग गरी उक्त खाजा घर संचालन गर्न लागेको बताउनु भयो । स्थानीय उत्पादनलाई प्राथमिकता दिई केहि गरौं भन्ने भावनाले उक्त खाजा घरलाई संचालनमा ल्याएको र उक्त खाजा घरबाट नाफाबाट केहि रकम समाज सेवामा समेत लगाउने उद्देश्य रहेको अमात्यले बताउनु भयो । विभिन्न प्रकारका नेवारी खाजा, खाना, योमरी लगायत उक्त खाजा घरमा पाईने बताएको छ । पनौतीमा १०० वर्ष अघि बनेको घरमा पुरानो संस्कृती र परम्परालाई पच्छ्याउँदै उक्त खाजा घर संचालनमा ल्याएकोले एक पटक आएर स्वाद लिन आग्रह गर्नु भएको छ ।
कार्यक्रममा त्रिवि प्राज्ञिक सदस्य तथा तेजगंगा बहुमुखी क्याम्पसका संस्थापक डा. अम्बु भवानी कार्की, पनौती नगरपालिका ७ नम्बर वडा अध्यक्ष रामचन्द्र नास्नानी, पनौती होमस्टेका अध्यक्ष शिला अमात्य लगायतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा काभ्रे पुण्यवती यातायात प्रालिका अध्यक्ष राजेश सुन्दर सैंजू, पुण्य मावि विद्यालयका प्रध्यानाध्यापक सरस्वती कँडेल, वडा सदस्य पुरुषोत्तम कर्माचार्य लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सभापतित्व सञ्चालक रमा फाछी श्रेष्ठले गर्नु भएको थियो भने सञ्चालन समाजसेवी गिता दाहालले गर्नु भएको थियो ।









