महाभारत/महाभारत गाउँपालिका वडा नम्वर ६ गोल्टारमा स्वास्थ्य भवन निर्माण गर्न ठेक्का लागेको लामो समयसम्म वडा अध्यक्ष रमेश लुङ्गेलीको राजनीतिक स्वार्थका कारण भवन बन्न सकेको छैन । ठेक्का स्विकृत गर्दा गोल्टारमा रहेको स्वास्थ्य संस्थाको जमिनको पुर्जा राखेर स्विकृत गराएको भए पनि भवन निर्माण गर्ने समयमा विभिन्न बाहना बनाएर ठेकेदारलाई कार्य गर्न अवरोध गरे पछि भवन निर्माण कार्य हुन नसकेको हो ।
२०७७ चैत्र १४ गते महाभारत गाउँपालिका वडा नम्वर ६ गोल्टारमा बसेको स्थानीयहरुको भेलाले साविक बनखुचौर गाविसक वडा नम्वर १ गोल्टारमा रहेको बनखुचौर स्वास्थ्य चौकी को नाममा रहेको ४ रोपनी जमिन र बनखुचौर स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी अस्पतालको भवन निर्माण तथा संचालन गर्न कम्तिमा ७ रोपनी जग्गा आवश्यक भएकाले थप जग्गा ब्यवस्थापनका लागि स्थानीयहरुले जग्गा दिने निर्णय भएको थियो । रणबहादुर कुँवर क्षेत्रीको १० आना, भिमबहादुर क्षेत्रीको २ आना, कृष्णबहादुर वाईवा र एकबहादुर वाईवाले १० आना, प्रेमबहादुर बज्युले १० आना, खड्गबहादुर वाईवाले ८ आना, विरबहादुर वाईवाले ८ आना र रत्नबहादुर वाईवाले १० आना गरी ७ रोपनीका लागि नपुग ३ रोपनी १० आना जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । उक्त भेलामा सोहि वडाका ४४ जना स्थानीयहरुको उपस्थिती रहेको थियो । वडा अध्यक्ष लुङ्गेलीले बनखुचौर स्वास्थ्य चौकीमै अस्पताल निर्माण गर्ने विषयमा सहमति जनाउँदै थप जग्गा ब्यवस्थापनका लागि अनुरोध गरेका थिए ।
अर्काे पटकको भेलामा महाभारत गाउँपालिका वडा नम्वर ६ हाल मगरगाउँमा संचालनमा रहेको स्वास्थ्य चौकी स्वास्थ्य चौकी गोल्टारका नाममा रहेको गोल्टार स्थित जग्गामा संचालनमा ल्याउने तथा गोल्टारमा संचालनमा रहि आएको आधारभुत वडा स्वास्थ्य केन्द्र मगरगाउँमा कायम गराउन अनुरोध गर्ने तथा गोल्टार स्थित बनखु स्वास्थ्य चौकीका नाममा रहेको ४ रोपनी जग्गामा दश शैयाको अस्पताल निर्माण गराउने र सोको मापदण्ड कम्तिमा ७ रोपनी हुनु पर्ने भएकाले जग्गा उपलब्ध गराउन आवश्इक ब्यवस्थापन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयमा स्वंय वडा अध्यक्ष सरिक भएका छन् । तर अहिले मगरगाउँमा अस्पताल निर्माण गर्न नपाए भवन निर्माण गर्नै नदिने भन्दै वडा अध्यक्ष लुङ्गेलीले गोल्टारमा भएको स्वास्थ्य चौकीको नाममा रहेको लालपुर्जा प्रयोग गरेर सम्झौता गरेको ठेक्का सहितको १० शैयाको अस्पताल भवन निर्माण गर्न रोकिरहेका छन् ।









