बनेपा/मुल तथा सहायक मार्गहरुमा गुड्ने सवारी साधनलाई पारवहन क्षमता अनुसार नियन्त्रण गर्ने उद्देश्यले पनौती, पाँचखाल र नमोबुद्धमा तौल पुल शुभारम्भ गरिएको छ ।
पनौतीमा नगर प्रमुख भिम न्यौपाने, पाँचखालमा नगर प्रमुख महेश खरेल र नमोबुद्धमा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले तौलपुलको शुभारम्भ गर्नु भएको थियो । पारवहन क्षमता अनुसारको सामाग्री ढुवानी गरी सडक र पुल सुरक्षित राख्न तौलपुल महत्वपूर्ण हुने प्रमुख भिम न्यौपानेले बताउनु भयो । नीजि क्षेत्रबाट शुरु गरिएको उक्त तौलपुलका लागि नेपाल सरकार यातायात ब्यवस्था विभागले अनुमति दिएको छ । ग्लोबल मेशीनरी एण्ड टेक्नोलोजी सर्भिसेज र कोट कालिका मेशीनरी एण्ड टेक्नोलोजी सर्भिसेजका नाममा तौलपुल स्थापना गरिएको हो । यातायात ब्यवस्था ऐन २०४९, सवारी तथा यातायात ब्यवस्था नियमावली २०५४, यातायात ब्यवस्थापन कार्यविधि निर्देशिका २०६० र मालवाहक सवारी साधनको भारवहन नियमन सम्वन्धी निर्देशिका २०७४ को ब्यवस्था अनुसार भारमापन कन्द्र स्थापना गरी सःशुल्क भारमापनको सार्वजनिक सेवा संचालन गरिएको संचालक राजेशसुन्दर सैजुले बताउनु भयो । तौल अनुसार प्रति सवारी साधन ४० टनसम्म १ सय २५ रुपैयाँ शुल्क लिने गरिएको छ । शुभारम्भको अवसरमा परिक्षण गरिएको अधिकांश टिपरहरुले बोक्ने क्षमता अनुमति भन्दा ५ टन भन्दा धेरै रहेको ट्राफिक प्रहरी कार्यालय काभ्रेकी प्रमुख प्रमिला श्रेष्ठले बताउनु भयो ।









