2026 April 24/ 08:52: 33pm

कानपुर/नमोबुद्ध नगरपालिका वडा नं. ५ कानपुरको वडा कार्यलय र स्वास्थ्यको भवन शिलान्यास गरिएको छ । नगर प्रमुख टी.पी शर्मा तिमल्सिनाले वडा कार्यालय र स्वास्थ्य चौकीको भवन शिलान्यास गरेका हुन् ।
    नमोबुद्ध नगरपालिकाले सबै वडा कार्यालयको भवन निर्माण चालु आर्थिक बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य सहित वडा नम्वर ५ मा पनि वडा कार्यालयको सुविधासम्पन्न भवन निर्माण गर्न लागेको हो । यसअघि वडा नं. २, ३, ६, ७, ८, ९, १० र ११ को वडा कार्यालय भवन निर्माण सम्पन्न भइसकेको छ भने यही बर्षभित्र सक्नेगरी वडा नम्वर ४ को भवन निर्माण भइरहेको छ । यस्तै वडा नं. १ को भवन निर्माणको प्रक्रिया पुरा गरेर केही समयमै निर्माण थाल्ने तयारी भइरहेको छ । वडा नं. ५ कानपुरमा वडा कार्यालय भवनसँगसँगै स्वास्थ्यचौकी भवन पनि निर्माण हुने भएपछि उक्त वडामा स्वास्थ्यको दुईवटा भवन हुने भएको छ । कानपुरको बोहोरेमा पनि ग्रामीण स्वास्थ्य केन्द्रको भवन निर्माण भैरहेको र निर्माण कार्य अन्तिम चरणमा पुगेको वडाध्यक्ष बुद्ध सिं तामाङले जानकारी दिएका छन् । 
वडा नं. ५ को वडा कार्यालय निर्माणका लागि गतिशिल निर्माण सेवा हेटौडासँग भ्याटबाहेक ३९ लाख ७१ हजार ६ सय ४२ रुपैयाँमा ठेक्का सम्झौता भएको छ भने स्वास्थ्य चौकी भवन निर्माणका लागि राज कन्स्ट्रक्सन काठमाडौंसँग भ्याटबाहेक २१ लाख ८१ हजार २ सय ३५  रुपैयाँमा ठेक्का सम्झौता भएको छ । भवन शिलान्यास पश्चात नगर प्रमुख शर्माले कानपुर माविको नव निर्मित भवनको पनि अवलोकन गरेका थिए ।