बासुकी पार्क निर्माण धमाधम
बनेपा/बनेपा नगरपालिकाले गुरु योजना तयार गरी बनेपा नगरपालिका वडा नम्वर ३ स्थित हिलेजलजलेमा १ किलोमिटर लामो प्राकृतिक सौन्दर्य सहितको बहुउदेश्यीय ताल निर्माण गर्ने भएको छ । ताल निर्माणका लागि सम्भाब्यता अध्ययन पछि गुरुयोजना तयार गरिएको हो ।
‘प्राकृतिक सौन्दर्य कायम राखी ताल निर्माणका लागि गुरुयोजना तयार गरेका छौ’–बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादेले भन्नुभयो–‘पुर्व मन्त्री एवं यहि क्षेत्रका प्रतिनिधि सभा सांसद गोकुल बास्कोटाले हिलेजलजले क्षेत्रमा ताल निर्माण गरी बहुउदेश्यीय परियोजना संचालन गर्ने परिकल्पनालाई गुरु योजना मार्फत अघि बढाएका छौं ।’ चालु वर्षबाटै उक्त क्षेत्रमा निर्माण कार्य प्रारम्भ हुनेछ । वडा नम्वर २ को हिलेजलजले क्षेत्रको गुरुयोजना निर्माण भई क्रमागत योजनामा निर्माण कार्य प्रारम्भ भईसकेको छ । वडा नम्वर ३ मा रहेको बासुकी क्षेत्र र हिलेजलजलेलाई पर्यटकिय तथा समृद्धीको आधारको प्रमुख गन्तब्य बनाउन ताल तथा अन्य संरचना निर्माण गरिने योजना रहेको नगर प्रमुख लक्ष्मीनरसिं बादेले बताउनु भयो । पुर्व मन्त्री बास्कोटाले उक्त क्षेत्रका लागि पर्यटन मन्त्रालयको शशर्त अनुदानको १५ लाख रकम विनियोजन गर्न लगाउनु भएको नगर प्रमुख बादेले बताउनु भयो ।
हिलेजलजले तालको धार्मिक तथा सांस्कृतिक महत्व छ । नगरकोटमा रहेको महादेव पोखरी र हिलेजलजले क्षेत्रमा हलाहल विष पिएर आएका महादेव चोपलिएको किवदंती छ । बासुकी नाग हिलेजलजले क्षेत्रबाट पनौतीको मकर मेलाका लागि जाने विश्वास छ । हरेक वर्ष घुम पुर्णिमाको दिन पनौतीमा लाग्ने जात्रामा हिलेजलजले क्षेत्रबाट बासुकी नाग जाँदा पानी पर्ने र हावाहुरी चल्ने गर्दछ । बासुकी नाग जाँदा हावाहुरीबाट लडेको मकै तथा अन्य बस्तुहरु फर्कँदा पहिलाकै अवस्थामा आउने किवदन्ती छ । बासुकी नागले पहिला पहिला ब्यक्तिहरुका तमाम आवश्यकता पुरा गरिदिने गरेको विश्वास पनि छ । त्यहि क्षेत्रलाई धामिर्क, सांस्कृतिक र पर्यटकिय हिसावले ब्यक्तिहरुको आर्थिक समृद्धीसँग जोड्ने उदेश्यले नगरपालिकाले पुर्वाधार निर्माण तथा उक्त क्षेत्रको संरक्षण शुरु गरेको उपप्रमुख रेखा सापकोटा दाहालले बताउनु भयो ।
वडा अध्यक्ष कृष्णप्रसाद दाहालले हिलेजलजले क्षेत्रलाई प्राकृतिक रुपमा त्यहि अवस्थामा रहने गरी कृत्रिम ताल निर्माण गर्ने योजनामा नगरपालिकाले गुरुयोजना तयार गरी कार्य प्रारम्भ गरेको बताउनु भयो । ‘पर्यटन प्रर्वद्धन गर्ने, खानेपानी तथा सिंचाईको समेत ब्यवस्था गर्ने गरी बहुउदेश्यीय परियोजना संचालन गर्ने तयारीमा छौं’–वडा अध्यक्ष कृष्णप्रसाद दाहालले भन्नुभयो–‘ड्याम निर्माण गरी १ किलोमिटर लामो ताल बनेसँगै त्यसबाट जम्मा भएको पानीले खानेपानी तथा सिंचाईको काम त गर्छ नै पर्यटकिय हिसावले बोट संचालन गरी पर्यटकहरुको घुमाई लम्याउनेछ ।’ चराचुरुङ्ग, बन्यजन्तु समेतको संरक्षण गर्ने गरी स्थानीयहरुले उक्त तालको संरक्षण गर्नेछन् । योजना अधिकृत शर्मिला बन्जाडेले उक्त क्षेत्रको गुरुयोजना तयार गरी कार्यान्वयन शुरु गरिएको बताउनु भयो । तालको वरपर रहेका रुखहरुमा ट्रि हाउस, ट्रि सेन्टर निर्माण गरी पर्यटकहरुको बसाई लम्याउने संरचना निर्माण गरिनेछ ।
बनेपा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतीले बनेपा नगरको गौरव र आर्कषक योजना हिलेजलजलेमा निर्माण गरिने ताल तथा अन्य संरचनाको सम्भाब्यता अध्ययनसँगै तयार गरिएको गुरुयोजनाको कार्य प्रारम्भ भएको बताउनु भयो । ‘बजेट ब्यवस्थापन गर्दै कार्य प्रारम्भ गरिएको छ’–प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतिले भन्नुभयो–‘बनेपाका धेरै जमिनहरु सिंचाई योग्य हुनेछन् भने धेरै नागरिकलाई खानेपानीको सुविधा हुनेछ । पर्यटकहरुका लागि आर्कषक गन्तब्यका रुपमा रहनेछ ।’
बासुकी पार्क धमाधम
हिलेजलजले क्षेत्रमा ताल निर्माण अगावै बासुकी पार्क निर्माण शुरु गरिएको छ । बनभोज तथा पर्यटकहरुका लागि घुम्न जाने आर्कषक क्षेत्रका रुपमा चिनाउन धार्मिक तथा ऐतिहासिक क्षेत्रमा बासुकी पार्क निर्माण शुरु गरिएको स्थानीय केदारनाथ दाहालले बताउनु भयो । बनेपा नगरपालिकाले अघिल्लो आर्थिक वर्ष उपलब्ध गराएको १० लाख रुपैयाबाट उक्त क्षेत्रमा बनभोज गर्न मिल्ने ट्रस्ट र बासुकी नागको स्तम्भ निर्माण गरिएको थियो भने चालु वर्षमा १८ लाख रकम विनियोजन भएको छ । सोहि रकमबाट उक्त क्षेत्रको पुर्वाधार निर्माणका विभिन्न संरचनाहरु तयार गरिनेछन् । उपभोक्ता समितिका अध्यक्ष प्रेम दाहालले समयमै हिलेजलजले क्षेत्रसँगै जोडिएको ऐतिहासिक बासुकी पार्कको निर्माण कार्य सम्पन्न गर्ने बताउनु भयो । बनेपा नगरपालिकाको पर्यटकिय क्षेत्रहरु मध्ये बासुकी क्षेत्र धार्मिक र सांस्कृतिक रुपले पनि महत्वपूर्ण मानिएको स्थानीय सिद्र्धाथ दाहालले बताउनु भयो । उहाँ उपभोक्ता समितिका सचिव समेत हुनुहुन्छ ।









