धुलिखेल/बालबालिकाहरुलाई विद्यालयस्तरमै कोभिड विरुद्धको खोप लगाउने गरी स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका १३ वटै स्थानीय तहका खोप कार्यकर्ता तथा स्वास्थ्यकर्मीहरुलाई एक दिने तालिम दिईरहेको छ । पौष ८ गते शुरु भएको तालिम समापन भएको छ ।
हरेक पािलकाबाट सहभागिहरुलाई एक दिन भर खोपका बारेमा जानकारी गराउँदै तयारी अवस्थामा रहन अनुरोध गरिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेँढाईले जानकारी दिनुभयो । ‘बालबालिकाहरुलाई सुरक्षित तरिकाले खोप लगाउन, खोपबाट हुन सक्ने सम्भावित जोखिम र अवस्थाको मुल्यांकन गरी तयारी अवस्थामा रहने, खोपका बारेमा सचेत गराउँदै खोप अभियान सम्पन्न गर्ने गरी तयारी गरेका हौं’–स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेढाईले भन्नुभयो–‘७ दिनसम्म सबै पालिकाका स्वास्थ्यकर्मी र खोप कार्यकर्ताहरुलाई विद्यालय तहमा पठाउने गरी तयारी गरेका छौं ।’ यस अघि धुलिखेल अस्पतालमा ३ हजार बालबालिकाहरुलाई चिकित्सकको निगरानीमा खोप लगाईसकिएको छ ।
बालबालिकाहरुलाई खोप लगाउन पौष १३ गते सम्म तथ्याङ्क संकलन गर्ने गरी काम भईरहेको डा. पुडासैनीले बताउनु भयो । १२–१७ उमेर समुहका सबै बालबालिकाहरुलाई खोप लगाउन स्थानीय तहसँग समन्वय भईरहेको छ । दीर्घरोगीहरुलाई पहिलो प्राथमिकतामा राखिएको छ । बालबालिकाहरुलाई खोप लगाईसके पछि कसैकसैमा सामान्य ज्वरो आउने तर केहि दिनमै आफै ठिक हुने, खोप लगाएको स्थानमा सामान्य दुख्ने गरे पनि नआत्तिकन ढुक्क भएर खोप लगाउन अनुरोध गरिएको डा. सेढाईले बताउनु भयो । २१ दिनको फरकमा दोश्रो डोज लगाउने गरी तयारी अवस्थामा कार्यालयले ब्यवस्थापन गरेको छ । रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई कोभिड विरुद्धको खोपले थप सहजता प्रदान गर्नेछ । सरकारले ६० वर्ष भन्दा माथि उमेर समुहकालाई बुस्टर डोज लगाउने तयारी गरेसँगै स्वास्थ्य कार्यालय काभ्रेले तथ्याङ्क अपडेट गरिरहेको छ ।
जिल्लामा १ लाख ९१ हजार १ सय ५७ जनाले पूर्ण खोप लगाएका छन् भने १ लाख ९९ हजार ५ सय ७२ जनाले पहिलो मात्राको खोप लगाएका छन् । फाईजर खोप लगाउनेको संख्या ३ हजार छ । जिल्लामा कोभिडबाट १ सय ९३ जनाले ज्यान गुमाएका छन् । १४ हजार ७ सय ८० संक्रमित हुँदा अझै २५ सक्रिय संक्रमित छन् । १४ हजार ५ सय ६२ जना निको भएका छन् । संक्रमित हुनेमा महिला ६ हजार ७ सय १ जना र पुरुष ८ हजार ७९ जना रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेढाईले बताउनु भयो ।









