भुम्लु/जिल्लाको विकट क्षेत्र कोशिपारी भुम्लु गाउँपालिका वडा नम्वर ६ कोलाँतीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । गरिब, असहाय तथा स्वास्थ्यको पहुँच भन्दा बाहिर रहेका नागरिकहरुका लागि स्थानीय स्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो ।
रोटरी क्लब त्रिपुरेश्वर र रोटरी क्लव हेल्थ एण्ड प्रोफेसनलको संयुक्त आयोजना र समाजसेवी ताराबहादुर कुँवरको संयोजनमा भुम्लुको कोलाँतीमा शिविर आयोजना गरिएको हो । ‘गाउँबाट शहरसम्म स्वास्थ्यमा पहुँच नभएका नागरिकहरुलाई सबै प्रकारका सेवा उपलब्ध गराउने उदेश्यले शिविर आयोजना गरिएको हो’–समाजसेवी ताराबहादुर कुँवरले भन्नुभयो–‘विगत वर्षहरुमा हजुरलाई नमस्ते परोपकारी संस्थाबाट आयोजना गरिएको शिविर यो वर्ष रोटरीको अगुवाईमा आयोजना गरी नागरिकहरुलाई सेवा प्रदान गरेका हौं ।’ शिविरमा स्थानीय ५ सय नागरिकहरुले सेवा लिएका छन् ।
शिविरमा सामान्य परिक्षणको अलावा हाड जोर्नी, छाति तथा फोक्सो, स्त्रि रोग, फिजियोथेरापी, श्वासपश्वास र भिडियो एक्सरे सहितको सुविधा उपलब्ध गराईएको थियो । परिक्षण पछि आवश्यक पर्ने सेवाग्रहिहरुलाई निशुल्क औषधी उपलब्ध गराईएको थियो भने गम्भिर प्रकृतिका अस्पतालमै उपचार गराउनु पर्ने नागरिकहरुका लागि काठमाडौमा रहेको नेशनल अस्पताल कलंकी र स्पार्क होम कालिमाटीमा निःशुल्क उपचार गराउने ब्यवस्था मिलाईएको छ । गाउँमा नै विशेषज्ञ सेवा प्राप्त भए पछि सर्वसाधारणहरु खुशी भएका थिए ।
शिविरका लागि स्थानीय सरकार भुम्लु गाउँपालिका वडा नम्वर ६ का अध्यक्ष भरत शिवभक्ती, स्थानीय विभिन्न क्षेत्रका ब्यक्तिहरुले सहयोग गरेका थिए । शिविरमा समाजसेवी ताराबहादुर कुँवर, रोटरी क्लवका निवर्तमान अध्यक्ष भुवन श्रेष्ठ, अध्यक्ष डा. प्रकाश पौड्याल लगायतको सहभागिता रहेको थियो । समाजसेवी कुँवरले भुम्लुका सबै वडामा महिनाको एक पटक निशुल्क शिविर संचालनका लागि तयारी गरिएको बताउनु भयो । गतवर्ष पनि निशुल्क शिविरको आयोजना गरी नागरिकहरुलाई स्वास्थ्यमा सहज पहुँच पु¥याउन समाजसेवी कुँवरले विशेष भुमिका खेल्नु भएको थियो ।









