धुलिखेल/प्रेस काउन्सील नेपालको आयोजनामा धुलिखेलमा पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण सम्वन्धी दुई दिने तालिम मंगबालर धुलिखेलमा सम्पन्न भएको छ । बागमती प्रदेशका विभिन्न जिल्लामा क्रियाशील पत्रकारहरुलाई क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ काभ्रे जिल्ला शाखाको समन्वयमा काभ्रेको धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टमा तालिम आयोजना गरिएको थियो ।
तालिमको उद्घाटन सत्रमा नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोककुमार ब्याञ्जुले पत्रकारितामा जिउने परिस्थिति निर्माण नभएसम्म पत्रकार आचारसंहिताको पालना हुन नसक्ने बताउँदै पेशा र सञ्चार क्षेत्रलाई सबल र आत्मनिर्भर हुन सक्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार आचारसंहिता पालना गर्न र जिम्मेवारी पत्रकारिता गर्न हामी प्रतिबद्ध रहेको बताउनु भयो । प्रेस काउन्सिल नेपालका सदस्य ठाकुरप्रसाद बेलबासेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै काउन्सिलले सरकार र पत्रकारबीच सेतूको कार्य गर्दै पत्रकार क्षमता अभिवृद्धिको कार्यमा निरन्तर लागिपरेको बताउँदै सहभागिलाई स्वागत व्यक्त गर्नुभयो । प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवि मास्केले पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण कार्यक्रम फरक ढंगबाट अघि बढाउनुपर्ने र आफूले सिकेका कुराहरु जिल्लामा गएर कार्यक्षेत्रका पत्रकार साथीहरुलाई समेत शेयर गर्न तालिममा सहभागि पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले यस्ता प्रशिक्षण कार्यक्रममा अग्रज पत्रकारबाट उर्जा र जाँगर एवं सीप सिकी व्यवसायिक पत्रकारितामा अघि बढ्न थप टेवा पुग्ने बताउनुभयो । पत्रकार महासंघ काभ्रे जिल्ला अध्यक्ष बद्रीराज तिमल्सिनाले प्रेस काउन्सिल नेपालले लिएको अठोट र प्रतिवद्धतामा ऐक्यवद्धता जनाउँदै सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै दुई दिने प्रशिक्षण कार्यक्रम हामीजस्ता क्रियाशील पत्रकारहरुको लागि फलदायी हुने धारणा राख्नुभयो । कार्यक्रममा वरिष्ठ पत्रकार एवं पुर्व अध्यक्षहरु धर्मेन्द्र झा, गोविन्द आचार्य, महासंघ अध्यक्ष विपुल पोखेल, बरिष्ठ पत्रकार निर्मला शर्मा लगायतले पत्रकार आचारसंहिता सम्बन्धी अध्ययन र अनुभव शेयर गर्नु भएको थियो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्यद्धय ठाकुरप्रसाद बेलबासे, चिरञ्जीवि मास्के, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसाल, उपप्रशासकीय अधिकृत राधेश्याम अधिकारीलगायत उपस्थिति रहेको थियो । प्रशिक्षण कार्यक्रमबाट बागमती प्रदेशस्तरका ५५ जना पत्रकारहरु लाभान्वित भएकोे प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसालले बताउनुभयो ।









