2026 April 24/ 07:01: 27pm

    धुलिखेल/सचेत शिपमुलक र सुरक्षित रोजगार, मर्यादित श्रम आप्रवासनको मुल आधार भन्ने नाराका साथ काभ्रेमा पनि अन्तराष्ट्रिय आप्रवासन दिवस मनाइएको छ । बैदेशिक रोजगारबाट फर्कने व्यक्ति, जनप्रतिनिधि र सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 
    सिविक फोरम, धुलिखेल नगरपालिका, मण्डनदेउपुर नगरपालिका, रोशी गाउँपालिका र भुम्लु गाउँपालिकाको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, धुलिखेल नगरपालिका उप–प्रमुख विमला शर्मा, रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी बर्तौला उप्रेती, धुलिखेल नगरपालिका सामाजिक शाखा प्रमुख विदुर गौतम लगायतको उपस्थिति रहेको थियो । 
कार्यक्रममा बोल्दै उनीहरुले बैदेशिक रोगजारीमा जाँदा शिप सिकेर जान आग्रह गरेका छन् । यस्तै कसैको विश्वास र प्रलोभनमा नपरी बुझेर मात्रै वैदेशिक रोजगारीमा जान उनीहरुको सुझाव छ । काभ्रेमा सामी परियोजनाले सुरक्षित आप्रवासन सम्बन्धी विभिन्न कार्यक्रम गर्दै आएको छ । अन्र्तक्रिया कार्यक्रममा बेदेशिक रोजगारको वर्तमान अवस्था, अवसर र चुनौतीको बारेमा जानकारी गराइएको थियो । सामी परियोजनाका जिल्ला संयोजक बसन्त कुँवरले सुरक्षित आप्रवासनका विषयमा काभ्रे जिल्लामा भइरहेका गतिविधि बारे जानकारी गराएका थिए । कार्यक्रममा आप्रवासी कामदार हकहित संरक्षण मञ्चका जिल्ला सचिव निलप्रसाद ढकालले स्थानीय तहले बैदेशिक रोजगारबाट फर्केका ब्यक्तिहरुको सिप, इच्छा शक्ति, मेहनत र पुँजीको समुचित प्रयोग गर्दै उनिहरुलाई ब्यवसायीयक तथा उद्यमी बन्न आवश्यक नीति, कार्यक्रम र बजेट ब्यवस्थापन गर्नु पर्ने बताउनु भयो ।