2026 April 24/ 07:01: 06pm

    ढुंर्खक/बेथानचोक गाउँपालिकामा रहेको श्रीकृष्ण गोपाल माध्यामिक विद्यालयले विविध कार्यक्रम सहित आफ्नो  ५५ औं वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ओमप्रसाद तिमल्सिनाले वर्षिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै उनले विद्यालयले आगामी दिनमा प्राविधिक शिक्षा सञ्चालन गर्ने, गणित, विज्ञान सामाजिक विषयको प्रयोगशाला स्थापना गर्ने र पूर्वाधार सम्पन्न विद्यालय बनाउने योजना रहेको जानकारी दिए ।  उक्त विद्यालयमा अहिले २ सय ३० जना विद्यार्थी अध्ययनरत छन् । औपचारिक रुपमा २०२३ साल पौष ३ गते स्थापना भएको श्रीकृष्ण गोपाल माध्यामिक विद्यालयले अनौपचारिक रुपमा भने २०१८ साल बाट नै पढाई सुरु गरेको थियो । विद्यालयले २०५० सालमा निम्न माध्यामिक तह र २०६५ सालमा माध्यामिक तह सन्चालनको अनुमति प्राप्त गरेको थियो । उक्त विद्यालयबाट हालसम्म ४ सय ६० जना विद्यार्थीले एसएलसी उत्तिर्ण गरेका छन् । वार्षिकोत्सवकै अवसर पारेर समुदायमा जनचेतना अभिवृद्धिका लागि सञ्चार क्षेत्रबाट उल्लेख्य योगदान पुर्याएकोमा प्राइम एफएम १०४ दशमलव ५ मेगाहर्जलाई प्रसंसा पत्रद्धारा सम्मान गरिएको छ । यस्तै नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना पनि सम्मानित भएका छन् । कार्यक्रममा सहायक प्रधानाध्यापक गोपाल प्रसाद तिमल्सिनाले स्वागत मन्तव्य राखेका थिए भने शिक्षक छवि श्रेष्ठले कार्यक्रम सन्चालन गरेका थिए । 
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, बेथानचोक गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिना, वडा अध्यक्ष दिलबहादुर श्रेष्ठ, शिक्षक अभिभावक संघका अध्यक्ष रामप्रसाद तिमल्सिना एवं विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको साभपतित्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष बोधनाथ तिमल्सिनाले गरेका थिए ।