पनौती/पनौती नगरपालिकामा ४ सय भन्दा बढी माटोको नमुना संकलन गरि परिक्षण गरिएको छ । माटो तथा मल परिक्षण प्रयोशाला हेटौंडा र पनौती नगरपालिकाको संयुक्त आयोजनामा भएको माटो परिक्षण शिविरमा नगरपालिकाका १२ वटै वडाबाट ४ सय ३ नमुना संकलन गरी परिक्षण गरिएको कृषि तथा पशुपक्षीं शाखा प्रमुख मणिप्रसाद सापकोटाले जानकारी दिए ।
मंसिर १६ देखी १८ गतेसम्म प्रयोगशाला अनतर्गतको ७ जनाको टोलीले माटो परिक्षण गरेको थियो । विशेषगरी नगरपालिकाको वडा नम्बर ४, ८, ९ र १० मा व्यवसायिक तरकारी खेती भएका क्षेत्रबाट माटोको नमुना संकलन भएको उनले जानकारी दिए । संकलित नमुना विश्लेषण गर्न उपकरणहरु जडित घुम्ती प्रयोगशालाबाट माटोको पिंएच, प्रांगारिक पदार्थ, नाइट्रोजन, फस्फरक र पोटासको परिक्षण गरिएको थियो । सोहि क्रममा कृषकहरुलाई माटोको रिपोर्ट अनु्सार परामर्श समेत दिइएको थियो । परिक्षणको रिपोर्ट अनुसार ९३ प्रतिशत नमुनामा अम्लीय समस्या देखिएको माटो तथा मल परिक्षण प्रयोगशाला बागमती प्रदेशका प्रमुख माटो विज्ञ डाक्टर जनार्दन खड्काले जानकारी दिए । उनका अनुसार ६० प्रतिशत माटोमा प्रांगारिक पदार्थ र ४८ प्रतिशत माटोमा नाइट्रोजनको कमि देखिएको छ । कार्यक्रममा नगरपालिकाका प्रमुख भिम न्यौपानेले माटोको रोग पत्ता लागेकाले अब त्यसको निराकरणमा लाग्ने बताएका छन् । समस्या सामाधान गर्नका लागि नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने उनको भनाई छ । उनले माटो विज्ञले दिएको परामर्श अनुसार काम गर्न पनि कृषकलाई आग्रह गरेका छन् । यस्तै कृषि ज्ञान केन्द्र काभ्रेका प्रमुख डाक्टर तेज प्रसाद दवाडीले माटोलाई जिवित राख्न नसके मानव जिवनमा ठुलो असर पार्ने बताएका छन् । कृषिको मुटु नै माटो भएकाले यसको संरक्षणमा कृषक चनाखो बन्नुपर्ने उनको भनाई थियो । पनौती नगरपालिकाका वरिष्ठ प्रशासकिय अधिकृत इन्द्र प्रसाद अधिकारीले माटो अनुसारको बाली लगाउन सकिएमा तथा समयमा नै माटोलाई विग्रनबाट बचाउन सकेमा मात्रै कृषकको जीवनस्तर माथी उठाउन सकिने बताएका छन ।
यस्तै कार्यक्रममा कृषि तथा पशु विकास समितिका संयोजक एवं पनौती नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष गुणनाथ सापकोटाले टोल–टोलमा माटो परिक्षणको व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका छन् । जनप्रतिनिधि निर्वाचित भएर आएपछि नगरपालिकाले कृषकलाईए पहिलो प्राथमिकतामा राखेर कार्यक्रम गरिरहेको उनले बताए । कार्यक्रम सन्चालन कृषि तथा पशुपक्षीं शाखाका प्राविधिक अधिकृत लिलानाथ सापकोटाले गरेका थिए ।
२० मेट्रिक टन कृषि चुन वितरण
विश्व माटो दिवसको अवसर पारेर पनौतीमा २० मेट्रिक टन कृषि चुन निःशुल्क वितरण गरिएको छ । माटो तथा मल परिक्षण प्रयोगशाला वागमती प्रदेशको तर्फबाट १० मेट्रिक टन र पनौती नगरपालिकाको तर्फबाट १० मेट्रिक टन कृषि चुन वितरण गरिएको पनौती नगरपालिका कृषि तथा पशुपक्षीं शाखाले जनाएको छ ।









