धुलिखेल/विद्यालय जीवन देखि नै बालबालिकाहरुलाई राष्ट्रिय एकताको भावना जगाउन, बफादारिता, इमान्दारिता, अनुशासन, नेतृत्व गर्ने बानीको विकास गर्ने उद्देश्यले नेपाली सेनाले काभ्रेपलाञ्चोक जिल्लाका पाँचवटा विद्यालयमा राष्ट्रिय सेवा दल गठन गरेको छ ।
बनेपाको नाईटिङ्गेल एकेडेमी, पनौतीको एसओएस बालग्राम र अरुणोदय मावि, पाँचखालको गोल्डेन फ्युचर मावि र नमोबुद्धको भकुण्डेमा रहेको जनक माविमा सेनाको राष्ट्रिय सेवा दल गठन गरिएको छ । गोल्डेन, जनक र एसओएस बालग्राममा सिनियर डिभिजन तथा नाईटिङ्गेल र अरुणोदयमा जुनियर डिभिजन गठन भएको छ । जुनियर डिभिजनमा कक्षा ८, ९ र १० कक्षाका विद्यार्थी सहभागी हुन्छन् भने सिनियर डिभिजनमा कक्षा ११ र १२ का विद्यार्थी सहभागी छन् । एउटा विद्यालयमा १८ छात्रा र १८ छात्र गरी ३६ जना विद्यार्थीहरु सेवा दलमा सहभागी भएका छन् । विद्यार्थी र अभिभावकहरुको रुची, उचाई तथा तौल, शारिरीक स्वस्थता लगायतका मापदण्डका आधारमा विद्यार्थीहरु छनौट गरिएको छ । राष्ट्रिय सेवा दल गठन गर्नु अघि नेपाली सेनाको कालिजंग गण धुलिखेलका गणपति कर्णेल मिलन थापाले अभिभावक, विद्यार्थी र शिक्षकहरुलाई राष्ट्रिय सेवा दलको उद्देश्यका बारेमा अभिमुखीकरण गर्नु भएको थियो ।
विद्यार्थीहरुलाई अध्ययनमा कुनै असर नपार्ने गरी सेवा दलमा सहभागी भएकाहरुलाई विहान बेलुकाको अतिरिक्त समयमा नेपाली सेनाको टोलीले तालिम प्रदान गर्नेछ । तीन महिने तालिममा सहभागीहरुलाई सेनाले पोशाक लगायतका आवश्यक सामाग्री निःशुल्क उपलब्ध गराउनेछ । विद्यालय तहमा लिईने तालिम समापन पछि सेनाले विभिन्न स्थानमा रहेका युनिटहरुमा ‘क्लोज क्याम्प’ मा दुई साता भन्दा लामो समय विद्यार्थीहरुलाई सहभागि गराउनेछ । सोहि तालिममा उत्कृष्ट भएकाहरुलाई सेनाले विभिन्न देशमा अध्ययन अवलोकनका लागि पठाउने छ । विशेषगरी स्थानीयस्तरमा हुने विभिन्न खालका विपद् भएको अवस्थामा त्यसको ब्यवस्थापनका लागि राष्ट्रिय सेवा दलमा आबद्ध भई तालिम प्राप्त विद्यार्थीहरु सक्रिय हुन सकून् भन्ने उद्देश्यले विद्यालय तह देखि नै विद्यार्थीहरुले सक्रिय बनाईएको हो । नेपालमा विपद् धेरै भएकाले विपद् ब्यवस्थापन गर्न स्थानीय तहमै जनशक्ति तयार गर्ने उद्देश्यले उक्त सेवा दललाई ऐनमा भएको ब्यवस्था अनुसार कार्यान्वयन शुरु गरिएको हो । तालिम पश्चात विद्यार्थीहरुलाई एल्मुनाई एशोसियशन मार्फत सक्रिय गराई सामाजिक काममा समेत उत्प्रेरणा जगाउने अभिप्रायले राष्ट्रिय सेवा दल गठन गरिएको हो । यसअघि जिल्लाका विभिन्न विद्यालयमा गठन भएको राष्ट्रिय सेवा दलमा सहभागी विद्यार्थीहरु सामाजिक कार्य तथा विपद् ब्यवस्थापनमा सक्रिय भएका छन् ।
आईतबार बनेपाको नाईटिङ्गेल एकेडेमी र पनौतीको अरुणोदय मावीमा नेपाली सेनाको कालीजंग गण धुलिखेलका गणपति कर्णेल मिलन थापाले राष्ट्रिय सेवा दलको उद्घाटन गर्नु भएको छ भने अन्य विद्यालयहरुमा गठन भएको सेवा दलको उद्घाटन गणबाट खटिएका प्रतिनिधिहरुले उद्घाटन गर्नु भएको छ । अरुणोदय मावि पनौतीका प्रिन्सिपल विष्णु दाहालले राष्ट्रिय सेवा दल गठनले विद्यार्थीहरुलाई नेतृत्व र अनुशासन कायम हुने बताउनु भयो । विद्यार्थीहरुलाई शारिरीक रुपमा स्वस्थ बनाउन, प्रतिरक्षा तथा सहयोग पुग्ने बताउँदै प्रिन्सिपल दाहालले स्वयंसेवक तयार गर्न महत्वपूर्ण हुने जानकारी दिनुभयो । एसओएस बालग्रामका प्राचार्य नरेश्वर आचार्यले राष्ट्रिय सेवा दलमा सहभागी विद्यार्थीहरुलाई राष्ट्र निर्माणमा जिम्मेवार बनाउने, इतिहास, राष्ट्रियताको रक्षार्थ सहयोग पुग्ने बताउनु भयो । समुहमा नेतृत्व गर्न सक्ने क्षमताको विकास गर्ने, अनुभव र सिप आदान प्रदान गर्ने, उत्कृष्ट विद्यार्थीहरुलाई अवसर प्रदान हुने, समाज र राष्ट्र प्रतिको बफादारिता प्रदान गर्ने भएकाले विद्यार्थीहरुलाई राष्ट्रिय सेवा दल गठनमा सहभागिता जनाएको प्राचार्य नरेश्वर आचार्यले बताउनु भयो । एसओएस बालग्राममा यो पटक समेत गरी राष्ट्रिय सेवा दलको चौथो समुह गठन भएको छ । पटक–पटक बालग्रामका विद्यार्थीहरु तालिममा उत्कृष्ट भएका छन् ।









