2026 April 24/ 05:49: 07pm

    धुलिखेल/भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेले स्थानीय तह तथा सरोकारवालाहरुसँग समन्वयात्मक अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । धुलिखेलमा आयोजित कार्यक्रममा स्थानीय तहमा भएका पशुपंक्षीहरुको सरंक्षण, सम्बद्र्धन र प्रबद्र्धनका लागि भएका प्रयास र संक्रमक रोग नियन्त्रणमा स्थानीय तहको तयारीका बारेमा छलफल भएको थियो । 
    बरिष्ठ पशु विकास अधिकृत डा. मोगोलप्रसाद शाहले काभ्रेपलाञ्चोक जिल्लाको पशुपालनको अवस्था र संक्रमक रोगको विषयमा जानकारी गराउनु भएको थियो जिल्लाका १३ वटै स्थानीय तहले रेविज रोग उल्मुलन गर्न भदौ १९ गते धुलिखेल संकल्प गरे पनि त्यस अनुरुप कार्य हुन नसकेको बताउनु भयो । जिल्लाका विभिन्न स्थानमा खोरेत रोग महामारीका रुपमा फैलिएकाले त्यसलाई नियन्त्रणका लागि सबै पक्ष सक्रिय हुनुपर्ने बताउनु भयो । खोरेत रोग नियन्त्रणका लागि तीन तहकै सरकार सक्रिय हुनु पर्ने बताउँदै डा. शाहले कृषकहरु आफै सचेत हुनुपर्ने बताउनु भयो । कार्यक्रममा सप्ताहब्यापी कार्यक्रम संचालनका लागि जिल्लाका १३ वटै स्थानीय तहको तयारी, बाख्रामा लाग्ने रोग नियन्त्रण गर्ने खोप अभियान, रेविज विरुद्धको अभियान संचालन गर्नेे बताउनु भयो । कृत्रिम गर्भाधानका लागि प्रभावकारी भूमिका निर्वाह गर्न, संक्रमक रोगका बारेमा नियमित जानकारी गराउन स्थानीय तहका पशुपंक्षी शाखाका प्रतिनिधिहरुलाई डा. शाहले अनुरोध गर्नुभयो । 
    छलफलका क्रममा स्थानीय सरकार प्रतिनिधिहरु, भेटिरिनरी अस्पतालका पशु विकास अधिकृत राजकुमार हुमागाई, शंंकर दुलाल, १३ वटै पालिकाका पशुपंक्षी शाखाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बनेपा, चौरीदेउराली, तेमाल लगायतका स्थानमा खोरेत तथा अन्य रोगका कारण पशुपक्षीहरुको मृत्यु हुन थालेको भन्दै सहभागीहरुले तत्काल नियन्त्रणका लागि अनुरोध गरेका थिए ।