बनेपा/३४ औं विश्व एड्स दिवस ‘असमानता हटाउँ, एड्सको अन्त्य गरौं’ भन्ने नाराका साथ सकृय प्लस नेपाल बनेपाले बुधबार पनौतीमा रहेको एक सुधार गृहमा अति जोखिम समुदायहरू बीच जनचेतनाका साथै अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
तीन तहका सरकार कार्यान्वयनमा आए सँगै अन्य संघ÷संस्थाहरूले विश्व एड्स दिवसलाई खासै चासो दिएको पाइँदैन भने एचआईभीको क्षेत्रमा काम गर्ने ब्यक्तिहरुले जनचेतनामूलक कार्यक्रमको आयोजना गर्न समन्वय गर्दा बजेट नभएको जवाफ आउने गरेको छ । कोभिडका कारण जिल्लामा एचआईभी एड्स विरुद्धको अभियान मात्रै नभई अन्य अभियानका कार्यक्रम ओझेलमा परेका छन् । नेपाल सरकारले निःशुल्क स्वास्थ्य बिमा लागू गरे देखि एच.आइ.भि. संक्रमितहरूलाई निकै सहज भएको छ । स्वास्थ्य बिमा बोर्डले एचआईभी संक्रमितहरुका लागि सक्रिय प्लस नेपालको समन्वयमा (आफ्नो वडामा खुल्न नसकेका संक्रमितहरू) लाई सकृय प्लस नेपालले संस्थाबाटै सम्पूर्ण संक्रमितको निःशुल्क स्वास्थ्य बिमा गरिसकेको छ । विमा गरिएका संक्रमितहरुले धुलिखेल अस्पतालबाट सेवा लिदै आएका छन् ।
धुलिखेल अस्पतालबाट उक्त सेवा लिने नागरिकहरुको संख्या ८२ रहेको छ । सबै जनाले एचआईभी विरुद्ध एआरभिसेन्टरबाट नियमित औषधि लिने गरेका छन् । धुलिखेल अस्पतालले एच.आइ.भि. संक्रमितले नियमित सेवन गर्नुपर्ने औषधि लिने एआरटि सेन्टरको लागि व्यवस्थित र स्थायी कोठा उपलब्ध गराउन सकेको छैन । एक ठाउँबाट अर्को ठाउँ सारी राख्ने हुँदा संक्रमितहरुलाई समस्या परेको बताईएको छ । अस्पतालमा औषधी लिने ब्यवस्था भए देखि हालसम्म ५ स्थानमा सरिसकेको छ । एक हप्ता अगाडि सरेको ठाउँ साधारण टहरा भएको, सानो (सामान व्यवस्थित नहुने) र गोपनियता कायम नहुने हुँदा संक्रमितहरू प्रति भेदभाव भएको महशुश भएको अन्र्तक्रिया कार्यक्रममा एक संक्रमितले बताउनु भयो ।









