2026 April 24/ 05:50: 55pm

    बनेपा/आदर्श विद्यामन्दिर बनेपाले कार्यक्रम आयोजना गरी कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेको छ । कार्यक्रममा प्रमुख अतिथीको रुपमा काठमाडौं विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा. भोला थापाले उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीले पढाईमा बढी ध्यान दिनुपर्ने बताउनु भयो । 
    विद्यालयहरूले विद्यार्थीहरूको रुची र क्षमतामा ध्यान दिँदै व्यवहारिक र सिप मूलक शिक्षामा जोड दिन आग्रह गर्दै उहाँले काठमाडौं विश्वविद्यालयलगायत संन्सारमा नाम चलेका विश्वविद्यालयमा अध्ययन गर्न सक्ने बिद्यार्थी तयार पार्न जोड दिनुभयो । नेपालप्रहरी विद्यालय साँगाका सहायक प्रधानाध्यापक साहित्यकार हरिहर तिमल्सिनाले विद्यार्थीहरूले पढाईको अतिरिक्त धारणा र बानी व्यवहारमा परिवर्तन ल्याउनुपर्ने उल्लेख गर्दै छोटो समयमा नै एबिएम स्कूलले धेरै प्रगति गरेकोमा खुशी व्यक्त गर्नुभयो । कक्षा १२ कि विद्यार्थी आयुसा बजगाईले अध्यक्षता गरेको कार्यक्रममा कक्षा १२ कि विद्यार्थी बविता अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन । कार्यक्रममा कक्षा ११ मा भर्ना भएका करिब एक सय ५० विद्यार्थीलाई काठमाडौं विश्वविद्यालयका उपकुलपति डा.भोला थापाले फूलमालाले स्वागत गर्दै विद्यालयको लोगो प्रदान गर्नुभएको थियो ।
    कार्यक्रममा बनेपा नगरपालिका शिक्षा शाखाका शिवराम त्रिपाठी, एबिएम स्कूलका प्रिन्सिपल रामप्रसाद तिमल्सिना र शिक्षक केशव दाहालले विद्यालयका विविध पक्षमाथी प्रकाश पार्नुभएको थियो । कार्यक्रममा कक्षा १२ मा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुका साथै अतिथि र शिक्षकहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । स्वागत कार्यक्रममा विद्यार्थीहरूले देशभक्तिपूर्ण गित र कविता प्रस्तुत गर्नुका साथै मनोरञ्जनपूर्ण नृत्यहरू प्रस्तुत गरेका थिए । बनेपास्थित पञ्चकन्या बैंकेटमा आयोजित कार्यक्रममा पत्रकार, शिक्षक, विद्यार्थी र अभिभावकको उल्लेख्य सहभागिता थियो । बनेपा हाइटमा रहेको आदर्श विद्यामन्दिरको कक्षा ११ र १२ मा विज्ञान, कानुन, मानविकी र व्यवस्थापन लगायतका विषयमा पठन–पाठन हुँदै आएको छ ।