पनौती/नेपाल सरकार मन्त्रीपरिषद्को २०७६ असोज ७६ गतेको निर्णयानुसार जिल्लाको पनौती नगरपालिका वडा नम्बर १२ रोशी भूमिडाँडामा प्रहरी चौकी रोशी भूमिडाँडाको स्थापना गरिएको छ ।
पनौती नगरपालिका प्रमुख भिम न्यौपाने, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्री लगायतको उपस्थितिमा प्रहरी चौकी शुभारम्भ गरिएको हो । पनौती नगरपालिका वडा नम्वर १२ भालेश्वर स्थितमा पनौती नगरपालिका र १२ नम्वर वडा कार्यालयद्धारा उपलब्ध गराईएको सामुदायिक भवनमा रहने गरी उक्त नयाँ निकासा भएको प्रहरी चौकीको कार्य शुभारम्भ भएको हो । वडा अध्यक्ष इश्वर जंगम, स्थानीयहरु तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुको कार्यक्रममा सहभागिता रहेको थियो । प्रहरी चौकीले सोहि स्थानमा हुने अपराध न्यूनिकरण तथा नागरिकहरुलाई सुरक्षा प्रदान गर्नेछ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले नयाँ स्थापना भई शुभारम्भ भएको प्रहरी चौकी रोशी भूमिडाँडा काभ्रेपलाञ्चोकले नागरिकहरुलाई सरल र सहज रुपमा विकेन्द्रीकृत सेवा प्रवाह गरी स्थानीय स्तरमा शान्ति सुरक्षाको प्रत्याभूति दिई अपराध नियन्त्रण तथा न्यूनिकरणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो । पनौती नगरपालिकाको प्रमुख भिम न्यौपाने, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले प्रहरी र नागरिक एकै सिक्काका दुई पाटा भएकाले दुबै मिली समाजमा शान्ति सुरक्षा स्थापित गर्न शुभारम्भ भएको चौकीबाट अझ सहज र सुलभ हुने भन्दै खुसी व्यक्त गर्नु भयो ।









