2026 April 24/ 02:35: 39pm

धुलिखेल/जिल्ला अदालत काभ्रेपलाञ्चोकले हाडनाता भित्र जर्बजस्ति करणी अभियोगमा थुनामा रहेका युवकको कसुर ठहर गरेको ७ दिन पछि सजायँ निर्धारण गरेको छ । बालिका जर्बजस्ति करणी अभियोगमा १८ वर्ष र हाडनाता भित्र भएकाले थप एक वर्ष गरी १९ वर्ष सजाँय हुने फैसला गरेको हो । 
    आफ्नै बहिनीलाई युवकले जर्बजस्ति करणी गरेको कसुर ठहर भएकाले प्रमुख जिल्ला न्यायाधिश मोहनराज भट्टराईको इजलासले कार्तिक ३० गते मंगलबार १० वर्ष वा दश वर्षभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिका भएकाले १८ वर्ष देखि २० वर्षसम्म सजायँ हुने ब्यवस्था अनुसार १८ वर्ष र हाडनाता करणीमा एक वर्ष देखि ३ वर्षसम्म कैद र १० हजार देखि ३० हजार रुपैयासम्म जरिवाना गर्न सक्ने ब्यवस्था अन्र्तगत थप एक वर्ष सजायँ र १० हजार जरिवाना गर्ने फैसला सुनाएको हो । बालिकाको उमेर ११ वर्ष छ । बालिकालाई जर्बजस्ति करणी गरेको अभियोगमा जेल परेका युवकले क्षतिपूर्ति बापत १ लाख रुपैयाँ उपलब्ध गराउने र पीडित राहत कोषमा २२ सय जम्मा गर्ने फैसला भएको जिल्ला अदालत काभ्रेपलाञ्चोककी सूचना अधिकारी अधिकृत अप्सरा चापागाईले जानकरी दिनु भयो । 
     थुनामा राखेका युवकलाई निर्दाेष सावित गर्न नेपाल बनेपा पोलिटेक्निक विद्यालयका केहि कर्मचारीहरु, राजनीतिक दलका नेताहरु र अन्य केहि स्वार्थ समुह सक्रिय थियो । अदालतले पटक पटक पेशी र आदेश हुँदै आएको उक्त मुद्दा डेढ वर्ष पछि फैसला सुनाएको हो । बनेपा नगरपालिका वडा नम्वर ४ स्थित उग्रचण्डी नाला घर भएका २१ बर्षिय युवकले ११ बर्षिया बहिनीलाई टिभी हेर्ने बाहनामा पटक पटक जर्बजस्ति करणी गर्दै आएका थिए । श्रेस्तेदार उपसचिव गोविन्दप्रसाद घिमिरेले यस अघि उक्त मुद्दामा कसुर ठहर भएकाले गत मंगलबार सजायँ निर्धारण गरिएको बताउनु भयो ।  
    पीडितको पक्षबाट जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता चन्द्रप्रसाद पोखरेल र सहायक न्यायाधिबक्ता सुदिप शाक्यले बहस गर्नु भएको थियो । पीडित बालिकाको बकपत्र, जाहेरी तथा तथ्य र प्रमाणका आधारमा युवकले जर्बजस्ति करणी गरेको पर्याप्त आधार भएकाले दोषिलाई हदैसम्मको कारवाहीको माग गरिएको थियो । जिल्ला न्यायाधिबक्ता चन्द्रप्रसाद पोखरेलले अदालतले पीडित बालिकालाई न्याय दिएको प्रतिक्रिया दिनु भयो । बालिकाका अभिभावकले २०७६ चैत्र ३ गते ईलाका प्रहरी कार्यालय बनेपामा जाहेरी दर्ता गराएका थिए । सोहि दिन युवक पक्राउ परेका थिए । २०७६ साल चैत्र २८ गते सरकारी वकिलको कार्यालयका सहायक जिल्ला न्यायाधिबक्ता कपिल रोक्काले सोहि मुद्दा जिल्ला अदालतमा पेश गर्नु भएको थियो । अभियोगमा करणी सम्वन्धी कसुर (हाडनातामा जर्बजस्ति करणी) अभियोगमा हाडनाता, जर्बजस्ति करणीमा कारवाहीको माग गरिएको थियो । सरकारी वकिलको कार्यालय र जिल्ला न्यायाधिबक्ता चन्द्रप्रसाद पोखरेल, सहायक जिल्ला न्यायाधिबक्ताद्धय कपिल रोक्का र सुदिप शाक्यले मुलुकी अपराध संहिता २०७४ को दफा २१९(१) (२) र सोहि संहिताको दफा २२० (१) (२) (घ) बमोजिमको कसुर गरेकाले सोहि दफा सहित संहिताको दफा २१९(८) बमोजिम थप हुन मागदावी गर्नु भएको थियो ।