2026 April 24/ 02:35: 49pm

तेह्रौ साधारण सभा सम्पन्न 
    पनौती/एकीकृत बचत तथा ऋण सहकारी संस्था लि.पनौती ७ को १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । 
    साधारण सभाबाट नयाँ संचालक समिति चयन भएको छ । काजीबहादुर खत्रीको अध्यक्षतामा ११ जना संचालक समिति र बालकृष्ण प्रजापतिको संयोजकत्वमा ३ सदस्यिय लेखा सुपरिवेक्षण समिति निर्विरोध चयन भएको छ । निर्वाचन समितिका संयोजक यज्ञप्रसाद हुमागाई लगायत गोविन्दप्रसाद न्यौपाने, दिपक शर्माले निर्वाचित पदाधिकारीहरुलाई लिखित प्रतिबद्धता र सपथ ग्रहण गराउनु भएको थियो । बन्द सत्रको कार्यक्रम संस्थाका पूर्व अध्यक्ष राजकुमार तिमल्सिनाले संचालन गर्दै साधारण सभाको प्रस्तावहरु उपर शेयर सदस्यहरुबाट राय–सल्लाह र छलफल गरी निर्णयहरु उतार गरेको थियो । 
    कार्यक्रमका प्रमुख अतिथि पनौती नगर कार्यपालिकाका सहकारी रजिष्ट्रार इन्द्रप्रसाद अधिकारीले सहकारीको कार्य सम्पादनमा सुधार व्यवस्थित र उपयोगी बन्दै गएको तथा संस्थाले एकीकरणका चरणहरु पार गरेको एकीकृत सहकारीलाई बधाई दिँदै सहकारी सँस्थाले न्युन आय भएकाहरुलाई साथ दिँदै अगाडि बढनु पर्ने बताउनु भएको थियो । कार्यक्रममा एकीकृत साकोस र साविक अस्मनगर साकोसका सल्लाहकारहरु, पत्रकारहरुका साथै उद्यम विकास साकोसका अध्यक्ष रोशन श्रेष्ठ र सहयात्रा बहुउद्देश्य सहकारी संस्थाको अध्यक्ष गोविन्द न्यौपाने लगायतका व्यक्तिहरुले सहकारी सम्बन्धी धारणा राख्दै शुभकामना व्यक्त गर्नु भएको थियो । साकोसले आ.वा २०७७÷७८ साल भित्र संस्थामा आबद्ध उत्कृष्ट शेयरसदस्यहरु मध्ये प्रमुख अतिथि, विशिष्ट अतिथि लगायतले सम्मान गरेका थिए । उत्कृष्ट नियमित बचतकर्ता विनोदकुमार अमात्य, उत्कृष्ट दैनिक बचतकर्ता शरद श्रेष्ठ, उत्कृष्ट साधारण बचतकर्ता महेश्वर जंगम, असल ऋणी सुर्यबहादुर खुलाल, असल लघुऋणी केदार केसी र ज्येष्ठ शेयरसदस्य बद्रीबहादुर खड्का सम्मान–पत्र, मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।  
कार्यक्रममा लसुन जोडि समूहको तर्फबाट सुरेन्द्र श्रेष्ठ र लक्ष्मण मतांछेले राष्ट्रिय गित र सहकारी सम्बन्धी गीत प्रस्तुत गर्नुका उपस्थित शेयर सदस्यहरुलाई मनोरंजन प्रदान गर्नुभयो भने खुल्ला सत्रको कार्यक्रम कार्यसमितिका सदस्य बसुन्धरा आचार्यले संचालन गर्नु भयो थियो । उद्घाटन सत्रमा संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक बालकृष्ण प्रजापतिले संस्थाको कमिकमजोरी औलाउँदै सुझावहरु प्रस्तुत गर्नु भयो भने सचिव रविनभक्त स्याउलाले आ.व. २०७७÷७८ को प्रतिवेदन र भावी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष भरत राउलले कोषाध्यक्षको प्रतिवेदन र बार्षिक बजेट प्रस्तुत गर्नुभएको थियो । संस्थाको प्रतिवेदन अनुसार संस्थामा शेयर सदस्य २६३३ जना रहेका छन् भने संस्थाको जगेडा कोष सहित कोषहरु १ करोठ १३ लाख, शेयरपूँजी २ करोड १६ लाख, बचत निक्षेप १४ करोड ९६ लाख र ऋण लगानी १३ करोड ८९ लाख रहेको जानकारी दिइएको संस्थाका व्यवस्थापक सविनसुन्दर सैंजूले जानकारी दिए ।