2026 April 24/ 02:37: 00pm

चालकलाई पुरस्कार, अपाङ्गता भएकालाई मासिक भत्ता
    बनेपा/टिपरबाट हुन सक्ने दुर्घटना न्यूनीकरणका लागि बागमती टिपर ब्यवसायी संघ काभ्रेपलाञ्चोकले चालक र सह–चालकहरुका लागि नयाँ योजना सार्वजनिक गरेको छ । दुर्घटनामा चालक र सह–चालकको लार्पवाहि हुन नदिन संघले सभ्य, अनुशासित भई सवारी साधन चलाउँदा दुर्घटना न्यूनीकरण गराउन सकिन्छ भन्ने सन्देश दिन प्याकेजका कार्यक्रम ल्याएको हो । पछिल्लो समय संघमा आबद्ध टिपरहरुबाट दुर्घटना न्यून भएको तथ्याङ्कले देखाएको छ । 
    अध्यक्ष सुरेश खत्रीले निर्वाचित हुँदै गर्दा चालक र सह–चालकहरुका लागि विशेष कार्यक्रम ल्याउने घोषणा गर्नु भएको थियो । सोहि घोषणा अन्तर्गत बागमती टिपर ब्यवसायी संघमा दर्ता भई नियमित मासिक शुल्क बुझाई रहेका गाडी दुर्घटना नगर्ने सघंको परिचयपत्र भएका र नवीकरण समेत भएका चालकहरुलाई गोलाप्रथाबाट प्रत्येक तीन महिनामा आकर्षक पुरस्कार दिने घोषणा गरेको छ । 
    त्यस्तै बागमती टिपर संघमा दर्ता भई नियमित मासिक शुल्क बुझाई रहेका गाडीबाट भवितब्य दुर्घटना भई चालक तथा सहचालक र तेश्रो पक्ष ब्यक्ति घाईते भई उपचार पश्चात पनि अपाङ्गता (शारीरिक रुपमा अशक्त) भएर सहज जीवनयापनको लागि कु्नै किसिमको कार्य गर्न नसक्ने अवस्था सिर्जना भएका अपाङ्ग ब्यक्तिलाई राहत स्वरुप मासिक ५ हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । २०७८ मंसिर महिना देखि लागु हुने गरी संघबाट उक्त सहयोग रकम उपलब्ध गराउने निर्णय भएको अध्यक्ष सुरेश खत्रीले बताउनु भयो । समयअनुसार सुविधा परिमार्जन गर्न सक्ने गरी संघले सहजता अपनाएको छ । कार्यालय प्रमुख प्रकाश कायस्थका अनुसार उक्त सुविधाका लागि संघले आवश्यक योजना बनाएको छ । 
    यसअघि बागमती टिपर ब्यवसायी संघले संघमा दर्ता भई नियमित मासिक शुल्क बुझाई रहेका गाडी धनी सदस्यको कुनै कारणबाट अंगभंग तथा पक्षघात भएमा दुई लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय कार्यान्वयनमा ल्याएको थियो । मष्तिष्कघात, किड्नी, क्यान्सर जस्ता कुनैपनि रोगको लागि एकपटक मात्र उपचार खर्च दिईने संघले जानकारी दिएको छ । नियमित नविकरण गराएका सवारी साधन तथा सदस्यहरुका लागि मात्रै उक्त ब्यवस्था रहेको छ । चालकले चलाएको गाडीको चालु महिनाको मासिक शुल्क अनिवार्य रुपमा भुक्तानी गर्नुपर्ने ब्यवस्था गरेको छ भने सुविधाका लागि चालकले लागू पदार्थ तथा मादक पदार्थ सेवन गरि गाडी चलाएमा कुनै पनि सुविधा उपलब्ध गराउने छैन । परिचय पत्र भएता पनि संघमा दर्ता नभएको टिपर वा अन्य कुनै गाडी चलाएमा सुविधा उपलब्ध हुने छैन । संघमा दर्ता भई नियमित मासिक शुल्क बुझाई रहेका गाडी धनी (सदस्य) को एकाघरको परिवारको निधन भएमा संघबाट राहत स्वरुप पच्चीस हजार) गाडी धनी सदस्यलाई सहयोग गर्नेछ । एकाघरका भन्नाले पति–पत्नी, आमा–बुवा, दाजू–भाई र विवाह नगरेका दिदी बहिनीलाई जनाउनेछ । संघमा दर्ता भई नियमित मासिक शुल्क बुझाई रहेका गाडी धनी (सदस्य) विरामी भई कुनैपनि रोगको शल्यक्रिया गरेमा, हृदयघात, मष्तिकघात, किड्नी, क्यान्सर आदी रोग लागेको अवस्थामा उपचार खर्च बापत ५० हजार उपलब्ध गराउँदै आएको छ ।
    संघमा दर्ता भएका र नियमित मासिक शुल्क भुक्तानी भई रहेका गाडीहरु दुर्घटना भएमा तेश्रो पक्ष घाईते भई उपचार गर्नु परेमा तीनलाखसम्म वीमाबाट र औषधी उपचारको बिलमा संघले थप तीन लाख तिरिदिनेछ । त्यो भन्दा माथी खर्च भएमा संघबाट ८० प्रतिशत र गाडी धनीबाट २० प्रतिशत तिर्दै जाने, तेश्रो पक्षको मृत्यु भएमा पाँच लाख सम्म संघले तिरिदिने र सोको भुक्तानी विमाबाट संघले लिने निर्णय कार्यान्वयनमा ल्याएको छ । बागमती टिपर व्यवसायी संघ–गाडी धनीहरुको लागि मात्र होईन, मजदुरहरुको लागि पनि हो भन्ने मान्यतालाई मध्य नजर गर्दै बागमती टिपर व्यवसायी संघले मजदुरहरुको आउने समस्यालाई विशेष ध्यानमा राखि चालक तथा सह–चालकहरु डयूटी समयमा गाडी दुर्घटना भई मृत्यु भएमा परिवारको हकवालालाई तीन लाख संघबाट सहयोग उपलब्ध गराउने छ । चालक तथा सह–चालकको प्राकृतिक (काल गतिले) मृत्यु भएमा पनि परिवारको हकवालालाई एक लाख संघबाट सहयोग उपलब्ध गराउनेछ । चालक तथा सह–चालक दुर्घटना भई अङ्ग भङ्ग भई काम गर्न नसक्ने अवस्थामा सम्बन्धित व्यक्तिलाई दुई लाख संघबाट सहयोग उपलब्ध गराउनेछ । साथै वीमाबाट पनि नियामानुसार क्षतिपूर्ति पाउने छ । चालक तथा सह–चालक अन्य अवस्थामा विरामी भएमा विरामीको अवस्था हेरी बढीमा पचास हजार उपचार खर्च दिईनेछ । त्यस्तो उपचारका लागि कुनै पनि रोगको शल्यक्रिया, हृदयघात, मष्तिकघात, किड्नी, क्यान्सर भएमा उपलब्ध हुने अध्यक्ष सुरेश खत्रीले जानकारी दिनुभयो ।