धुलिखेल/जिल्ला अदालत काभ्रेपलाञ्चोकमा कार्तिक २५ गतेबाट कानुन ब्यवसायीहरुले गरेको हड्ताल कायम छ । दिउँसो १२ बजेसम्म हड्ताल गरेका कानून ब्यवसायीहरुले सेवाग्राहिलाई असर नपार्ने उद्देश्यले त्यसपछि बहस गर्न थालेका हुन् । कार्तिक ३० गतेसम्म निरन्तर हड्ताल कायम रहने कानून ब्यवसायीहरुले बताएका छन् ।
सर्वाेच्च अदालतमा प्रधानन्यायाधिश विरुद्ध आन्दोलन चर्किरहँदा जिल्ला अदालतमा पनि कानुन ब्यवसायीहरुले नेपाल बार एशोसिएसनले गरेको आन्दोलनलाई समर्थन गर्दै हड्ताल गरेको बताएका छन् । हड्तालका कारण सेवाग्राहिहरुलाई भने असर पु¥याएको छ । ‘१२ बजेसम्म अदालतका काम कारवाही हड्तालका कारण प्रभावित भएका छन्’–श्रेस्तेदार उप सचिव गोविन्दप्रसाद घिमिरेले भन्नुभयो–‘बहसमा कानुन ब्यवसायीहरु सहभागी नभई हड्ताल भएका कारण १२ बजे पछि बस्ने इजलासबाट सेवाग्राहिहरुले चाहे जस्तो सेवा हुन सकेको छैन ।’
न्यायालय भित्रको सुधार र प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणाको राजिनामा माग गर्दै कानुन ब्यवसायीहरु पक्ष र विपक्षमा आन्दोलनरत छन् । कानुनले प्रधानन्यायाधिश हटाउने विधि तय गरेको भए पनि आन्दोलनबाटै प्रधानन्यायाधिशलाई राजिनामा दिन बाध्य पार्ने बारको आन्दोलन प्रति राजनीतिक दल मौन छन् । केहि कानुन ब्यवसायीहरुले प्रधानन्यायाधिश भ्रष्ट हुनुमा बरिष्ठ वकिल, राजनीतिक दलका नेताहरु पनि सहभागी भएकाले सबैलाई एकै स्थानमा राखेर छानविन गर्नुपर्ने आवाज उठाउन थालेका छन् भने न्यायाधिश र न्यायालयमा काम गर्ने सबै कर्मचारीहरुको सम्पति छानविन गर्नुपर्ने आवाज उठ्न थालेको छ । सेवाग्राहिहरुले सर्वाेच्च अदालतबाट सेवा नपाएका बारेमा कानुन ब्यवसायीहरु मौन छन् ।









