2026 April 24/ 03:20: 01pm

बेथान्चोक वडा नम्वर ३ को आफ्नै भवन
    बेथान्चोक/कानून, न्याय तथा संघीय मामिला मन्त्री दिलेन्द्र बडुले न्यायालय भित्रको विवाद आफै समाधान होस् भन्ने चाहेको बताउनु भएको छ । बार र बेन्च बिचको विवाद तत्कालै समाधान भई जनताले न्याय पाउने बाटो अबरुद्ध नगर्न उहाँले अनुरोध गर्नुभयो । 
      बेथान्चोक गाउँ पालिका वडा नम्बर ३ को वडा भवन र स्वास्थ्य चौकी  भवनको उद्घाटन गर्दै मन्त्री बडुले मुलुकमा सघियता आए पनि न्यायालयमा संघीयता नआएको बताउनु भयो । सर्बोच्च, उच्च, जिल्ला अदालतमा बर्षाै देखी पाउन नसकेको न्यायलाई सहज बनाउन मन्त्रालयले आवश्यक कानून निर्माणको तयारी गरेको उहाँले बताउनु भयो । मन्त्री बडुले संविधान अनुसार कानुन निर्माण हुन नसकेका कारण सरकारले निजामती बिधेयक फिर्ता लिएर अध्यादेश ल्याउन लागेको बताउनु भयो । प्रदेश र संघीय कानुन निर्माण नभएकोले स्थानीय कानून निर्माण हुन नसकेको बताउदै मन्त्री बडुले द्वन्द्वका घटनाको निरुपण गर्न गठन गरेको सत्य निरुपण तथा मेलमिलाप आयोगलाई पुर्णता दिई पीडित र पिडक बिचको द्वन्द्व अन्त्य गर्नुपर्ने बताउनु भयो । यो सरकार विशेष परिस्थितिमा गठन भएकोले यसले संविधान र लोकतन्त्रको रक्षा गर्ने बताउनु भयो । 
        कार्यक्रममा वडा अध्यक्ष दिलबहादुर श्रेष्ठले वडाले गरेका कार्यहरूका बारेमा जानकारी गराउदै वडा कार्यालय निर्माणमा सहयोग पुर्याउनु हुने जग्गादाता, ब्यबस्थापन र सल्लाहकारहरुलाई सम्मान गर्नु भएको थियो । कार्यक्रममा पूर्व राज्यमन्त्री कन्चनचन्द्र बादे, गाउँ पालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिना, नेपाली काँग्रेस सभापति मधु आचार्य, गाउँपालिका उपाध्यक्ष सरिता लामिछाने, नेकपा एमालेका नेता बेदप्रसाद तिमल्सिना, माओवादीका नेता बोधनाथ तिमल्सिना, नेपाली काँग्रेसका नेताहरु इन्द्रमणी अधिकारी, भगवान अधिकारी, विदुर घिमिरे, नारायणप्रसाद तिमल्सिना, लगायतका ब्यक्तिले गाउँ पालिकाको बिकास र समृद्धिका लागि सबैको पहल रहनुपर्ने बताउनु भयो । प्रदेश, जिल्ला समन्वय समिति, गाउँपालिका र वडा कार्यालयको बजेट मार्फत वडा कार्यालय र स्वास्थ्य चौकी भवन निर्माण भएको हो । स्वास्थ्य चौकी र वडा कार्यालय निर्माणका लागि रामप्रसाद तिमल्सिनाले ५ आना र भवनाथ तिमल्सिनाले ४ आना जग्गा निःशुल्क उपलब्ध गराउनु भएको थियो । वडा कार्यालयले बाँकी झण्डै ३ रोपनी जमिन खरिद गरेको थियो । जिल्ला समन्वय समितिको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लगानीमा पहिलो चरणमा ६५ लाखको भवन निर्माण सम्पन्न भएको थियो । पछि वडास्तरीय बजेटबाट १३ लाख खर्च भएको छ भने स्वास्थ्य चौकीलाई प्रदेश सरकारले ३८ लाख रकम उपलब्ध गराएको थियो । वडा अध्यक्ष श्रेष्ठले वडा भित्र स्थायी संरचना निर्माण गर्दै नागरिकहरुको सेवालाई सहजीकरण गरिएको बताउनु भयो । बेथान्चोक नारायणस्थान, अन्य मन्दिर, विद्यालय, स्वास्थ्य चौकी र सडकहरुलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको बताउनु भयो ।