2026 April 24/ 03:20: 02pm

    मण्डनदेउपुर/मण्डनदेउपुर नगरपालिकामा नेकपा एमाले फुटको प्रभाव पर्न थालेको छ । एमालेबाट निर्वाचित नगर प्रमुख एवं पार्टी अध्यक्ष समेत रहेका टोकबहादुर वाईवाले पार्टी परिवर्तन गरेसँगै कार्यपालिका बैठक र नगर परिषद्को निर्णय बेगर एकलौटी बजेट रकमान्तर तथा विनियोजन गरेको आरोप लगाउँदै उपप्रमुख निर्मला शाहि लगायत एमालेबाट निर्वाचित वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले कार्यपालिका बैठक अवरोध गरेका छन् । 
    एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु मध्ये केहि नेकपा ‘एस’ पार्टीमा आवद्ध भएका छन् । उपप्रमुख निर्मला शाहि, वडा अध्यक्ष जितबहादुर तामाङ, झलकप्रसाद पौडेल, भुवनप्रसाद बजगाई, कार्यपालिका सदस्य खड्गबहादुर पुर्काेटी, गिता नेपाल, निलकुमारी विशुंखे, सुुमित्रा भट्टराई र कृष्णबहादुर सार्कीले बैठक बहिस्कार गर्दै विज्ञप्ती सार्वजनिक गरेका छन् । नवांै नगर परिषद्मा अधिकार प्रत्यायोजन सम्बन्धी प्रस्ताव नै नआएकोमा आ.व. २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट पुस्तिकामा किर्ते गरी नगर प्रमुखलाई बजेट रकमान्तर, तोक आदेशमा बजेट विनियोजन गर्ने अधिकार दिएको वा अख्तियारी प्रदान गरेको भन्ने गलत कदमका विरुद्ध गम्भिर असहमति ब्यक्त गर्दै नगर प्रमुख टोकबहादुर वाईवाको मनोमानी निर्णय अमान्य हुने घोषणा गरेका छन् । 
    त्यस्तै बजेट ब्रेकडाउनमा उपप्रमुख लगायतका कार्यपालिका सदस्यहरुलाई समन्वय, छलफल तथा निर्णय नगरी नगर प्रमुख एक्लैले एकलौटी मनोमानी रुपमा बजेट पुस्तक प्रकाशन गरेकोमा कानुन विपरीतको कार्य अमान्य भएको घोषणा गरेका छन् । नगर परिषद्मा प्रस्तावित बजेट सिलिङ्ग भन्दा बढाएर घाटा बजेट ल्याएमा कार्यान्वयन हुन नसक्ने बजेटले आम जनताको भावनामा खेलेको, वडा परिषद्ले पास गरेर ल्याएका कार्यक्रम नगर प्रमुखले कटौती गरी मनोमानी ढंगले आफ्ना मान्छे भरणपोषणमा अनावश्यक बजेट विनियोजन गरेको, हुनै नसक्ने आन्तरिक आम्दानी बढाएर बजेट पुस्तिकामा प्रस्तुत गरेको, १८ करोडबाट बढाएर २८ करोड पु¥याएको, दरबन्दी मनलाग्दी थप गरेको, डोजर खरिद तथा संचालनमा कार्यविधिको अवज्ञा गर्दै आफुखुशी संचालन गरेको आरोप लगाएका छन् । उपप्रमुख सहित कार्यपालिका सदस्यहरुले नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, अधिकृतहरु र शाखा प्रमुख तथा इन्जिनियरहरुलाई गैह्रकानुनी काममा साथ नदिन र तोक आदेश नलगाउन अनुरोध गर्दै जर्बजस्ति गरे त्यसको कारवाही भोग्न तयार रहन चेतावनी दिएका छन् ।