2026 April 24/ 02:37: 21pm

    पनौती/साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूको ‘पनौती’ नामक पुस्तकको लोकार्पण गरिएको छ । पनौतीको इन्द्रेश्वर मन्दिर प्राङ्गनमा पनौती नगरपालिकाका नगर प्रमुख भीम न्यौपानेले उक्त पुस्तकको लोकार्पण गर्नुभएको हो ।
    साहित्यकार लाकोजूको पनौती पुस्तक परिमार्जित तथा पुनर्लिखित कृति हो । कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले ‘पनौती’ पुस्तक पनौती नगरलाई चिनाउने एक पठनीय कृति भएको बताउनु भयो । सर्जक लाकोजूले पुस्तकले पनौतीको ऐतिहासिक परिचय दिने बताउदै ‘पनौती’ लेखनमा पनौती नगरपालिकाको सद्भाव, स्थानीय विज्ञको प्रेरणा र आफ्नो मिहेनत मुख्य रहेको बताउनु भयो । भविष्यमा यो भन्दा पनि अझै राम्रा सिर्जनाहरुको खेति गर्न आफुलाई अझ हौसला मिलेको भन्दै खुसी ब्यक्त गर्नु भयो । उहाँले पुस्तक लेखनका क्रममा साथ र सहयोग गर्ने सम्पूर्ण महानुभावहरूमा आभार प्रकट गर्नु भएको छ । कार्यक्रममा बोल्दै साहित्यकार तुयुकाजी ताम्राकारले पुस्तक र लेखकको बारेमा चर्चा गर्नुभएको थियो । उहाँले सर्जक लाकोजूको साहित्यिक व्यक्तित्व विराट बन्दै गएको बताउनु भयो । साहित्यकार ताम्राकारले यस पुस्तकले पनौती नगरलाई थप परिचित गराउन मद्दत गराउने बताउनु भयो । कार्यक्रममा साहित्यकार लाकोजूलाई नगर प्रमुख न्यौपाने दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो । कार्यक्रमकै क्रममा भोलाकाजी श्रेष्ठद्वारा सोही रचित र सुरेश अधिकारीको सङ्गीत रहेको एतिहासिक १२ वर्षे मकरमेला सम्बन्धी गीति भिडियो सार्वजनिकरण गरिएको थियो । कार्यक्रममा नगर प्रमुख न्यौपानेसहित, उप–प्रमुख गीता बन्जारा, प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र नास्नानी, विभिन्न दलका प्रतिनिधिहरु, साहित्यिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।