बनेपा/ब्यापारीक नगरी बनेपामा नित्य चण्डेश्वरी बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको शुभारम्भ गरिएको छ । अध्यक्ष पुस्कर खड्काको अध्यक्षतामा शु्रु भएको उक्त संस्थाको उद्घाटन बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादेले गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख लक्ष्मीनरसिं बादेले बनेपामा ब्यापारीक केन्द्रमा हुने आर्थिक कारोवारलाई थप हौसला दिन अर्थात कारोवारलाई थप मजबुत बनाउन सहकारीको शुभारम्भले मद्दत पुग्ने बताउनु भयो । कारोबार जति धेरै हुन सक्यो त्यति धेरै नागरिकहरुले पाउने सेवा र सुविधामा थप हुने बताउँदै नगर प्रमुख बादेले सहकारी पारदर्शी, आर्थिक मितब्ययी र शेयर सदस्यमुखी हुन सुझाव दिनुभयो । कार्यक्रममा बनेपा नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहालले सहकारीले कृषि तथा महिलाहरुको आर्थिक समृद्धिका लागि लगानी गर्ने कार्ययोजना निर्माण गर्न सुझाव दिनुभयो । वडा नम्वर ५ का अध्यक्ष बलराम अधिकारी, वडा नम्वर १० का अध्यक्ष चन्द्रबहादुर खड्का, संस्थाका उपाध्यक्ष राजु कार्की, सचिव सुमन तिमल्सिना, कोषाध्यक्ष बासुदेव अधिकारी लगायतले संस्थाले खेल्नु भुमिकाका बारेमा जानकारी गराएका थिए ।









