बनेपा/मनकामना बचत तथा ऋण सहकारी संस्था लि.को २६ औ वार्षिक साधारण सभा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष उद्धब सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी सापकोटाले सहकारीहरुले कोरोनाका महामारीमा समेत सदस्यहरुलाई सेवा दिई विशेष सुविधा प्रदान गरेकोमा धन्यबाद दिनु भएको थियो । सहकारी भनेकै सदस्यहरुको स–साना समस्याहरुलाई समाधान गर्ने माध्यम भएकाले सम्पूर्ण सहकारीहरुले यस्तो महामारीमा समेत सेवा सुविधा प्रदान गरेको बताउनु भयो । राज्यले सहकारीहरुलाई विशेष छुट र सहयोग गर्नुपर्ने सापकोटाको धारणा रहेको थियो । राज्यको आर्थिक नीती अनुसार तीन खम्बामा सहकारी १ खम्बा भएकाले राज्यले सहकारी क्षेत्रलाई विशेष प्याकेजको घोषण गर्नुपर्ने बताउनु भयो । कुनै सहकारीहरुले सहकारीको नीति भन्दा बाहिर गएर कारोबार गरेको भन्ने सुचना आएकोले त्यसलाई नियमन र अनुगमन गर्न सबै लाग्नुपर्ने सापकोटाको भनाई थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष तथा कार्यक्रममका सभापति बालकृष्ण दाहालले आपसी सहयोग,सद्भाव र सामुहिक हितका लागी सहकारी भन्ने मुल नाराका साथ २०५२ सालमा स्थापना गरिएको सहकारीमा २०७७ साल असार मसान्त ४ वटा संस्था एकीकरण भएको बताउनु भएको थियो । संस्थाको कार्यक्षेत्र काठामाडौ, भक्तपुर, काभ्रेपलाञ्चोक रहेको केन्द्रिय कार्यालय बनेपा सेवा केन्द्रहरु पनौती, ढुंखर्क, कौशलटार, कोटेश्वर, बेथान्चोक र पाँचखालबाट सदस्यहरुलाई सेवा प्रदान गरेको बताउनु भयो । कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिबेदन सचिब होमनाथ ढुङ्गेल आर्थिक प्रतिबेदन कोषाध्यक्ष विदुर प्रसाद घिमिरे र लेखा तथा सुपरिबेक्षण समितीको प्रतिबेदन संयोजक मोट प्रसाद सापकोटाले सभामा प्रस्तुत गर्नु भएको थियो ।
संस्थाको शेयर पुँजी १८ करोड ६४ लाख, निक्षेप १ अर्ब २९ करोड ७४ लाख ५२ हजार ५ सय ९१, ऋण लगानी १ अर्व ४१ करोड ५९ लाख ९३ हजार, मुनाफा २ करोड ५९ लाख १८ हजार ९ सय २२ र जम्मा सदस्य ७ हजार १ सय ९ रहेको जनाएको छ । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहालले संस्थाले मनकामना उत्कृष्ट शैक्षिक पुरस्कार, कर्मचारीहरुलाई क्षमता अभिबृद्धि तालिम प्रदान, सदस्य शिक्षा शिबिर, शेयर सदस्यहरुलाई स्वास्थ्य उपचार खर्च, सुत्केरी खर्च, श्रद्धाञ्जली तथा राहत वितरण सदस्यको वीमा, एक्सेस ब्रान्डिङ कार्यक्रमलाई निरन्तरता, मोबाईल बैकिङ सुविधा प्रदान गर्दै आएको र आगामी दिनमा नाला र भकुण्डेमा सेवा कार्यालय विस्तार गर्ने योजना रहेको बताउनु भयो । कार्यक्रममा दुग्ध विकास बोर्डका पूर्व सदस्य दिपक प्रसाद पौड्याल, काभ्रे पलाञ्चोक जिल्ला बचत संघका प्रथम उपाध्यक्ष ईन्द्र प्रसाद अधिकारी, संस्थाका सल्लाहाकार राजकुमार हुमागाई, वित्तीय बिश्लेषक बालमुकुन्द सुवाल, समृद्धि साकोसका अध्यक्ष साधुराम दाहाल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।









