2026 April 24/ 12:42: 40pm

    धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लाको विकट क्षेत्र डाँडापारीबाट धुलिखेल अदालतमा तारेख लिन आएका एकजना सेवाग्राहिले काभ्रेपलाञ्चोक जिल्ला अदालतको प्राङ्गणमा उभिएर भन्नुभयो–“न्याय माग्न आउने न्याय क्षेत्र नै विवादित रहेछ । हाम्रो विवाद मिलाउलान् भनेर दर्ता गरेको मुद्दाको फैसला के आउँछ भन्दा पनि अदालत भित्र शुरु भएको लडाईमा कसले जित्ला भन्ने चिन्ता थपिन थाल्यो ।”
    अदालत परिसर मात्रै होईन अहिले सर्वाेच्च अदालत तथा न्यायिक क्षेत्रमा भईरहेका विकृति विसंगतिका बारेमा सर्वसाधारणहरुले पनि मुख खोल्न थालेका छन् । अदालतको मानहानी हुन्छ, अदालतका बारेमा केहि बोल्न हुँदैन भन्ने मानसिकताबाट अहिले नागरिकहरु पनि सचेत हुँदै विकृति र विसंगति विरुद्ध आवाज उठाउन थालेका छन् । तर न्यायालय भित्रको फोहोर सफा हुने भन्दा पनि एक पछि अर्काे गर्दै थपिएका गलत नजिरहरुले नागरिकहरुको मात्रै होईन न्याय क्षेत्रमा काम गर्ने कर्मचारीहरुको पनि मनोबल उच्च हुन सकेको छैन । न्याय सेवामा आर्कषण मानेर सेवा गर्न लालायित निस्वार्थ भावना बोकेका कर्मचारीहरुले सेवाग्राहिहरुले सोधेका त्यस्ता अपत्यारिला, अविश्वासिला प्रश्नहरुको उत्तर दिन सक्छन् होला ? नागरिकहरुले न्याय क्षेत्रका बारेमा उठेका सवालका बारेमा बहस गर्न थालेका छन् । 
    काभ्रेपलाञ्चोक जिल्ला अदालतमा हरेक दिन आउने सेवाग्राहिहरुको चासो र चिन्ता सर्वाेच्चका न्यायाधीश र प्रधानन्यायाधिश बीचको लडाईमा केन्द्रित हुन थालेको छ । महाभारत गाउँपालिकाका सेवाग्राहि रेशम मोक्तानले न्याय क्षेत्रको विवादले आम नागरिकहरुको न्याय क्षेत्र प्रतिको विश्वास कमी भएको बताउनु भयो । जिल्ला अदालत काभ्रेपलाञ्चोकमा कार्यरत श्रेस्तेदार उप सचिव गोविन्द घिमिरेको चिन्ता पनि नागरिकहरुलाई न्यायालयप्रति कसरी विश्वास दिलाउने भन्ने छ । तर नागरिकहरुले सोधेका यस्ता प्रश्नका उत्तरहरु स्वयं श्रेस्तेदार घिमिरेसँग छैन । ‘सेवाग्राहिहरुलाई विश्वास दिलाउने गरी कार्य गरिरहेका छौं तर न्यायालय भित्र भएको फोहोरी राजनीतिले नागरिकहरु मात्रै होईन हामी आफै पनि पीडित बन्न पुगेका छौं’–श्रेस्तेदार घिमिरेले भन्नुभयो–‘न्याय क्षेत्रको विवादले काविल अफिसर तथा न्याय सेवामा भविश्य देख्नेहरुलाई झस्काएको छ ।’ श्रेस्तेदार घिमिरे स्वंय लोकसेवा आयोगको परिक्षामा शाखा अधिकृत हुँदा एकै पटक ७ वटा समुहमा नाम निकालेका काविल अफिसर हुनुहुन्छ । राजश्व, लेखा, संसद् र कानूनमा नाम निकाल्न सफल घिमिरेले कानुनमा पनि न्याय सेवा रोज्नु भएको थियो । नागरिकहरुलाई सहज ढंगबाट सेवा प्रभाव गर्ने उद्देश्य बोकेका घिमिरे स्वंय भविष्यका लागि चिन्तित देखिनुहुन्छ । अदालतको विवादमा नेपालका सक्रिय राजनीतिक दलहरुले समेत औपचारिक रुपमा मुख खोलेका छैनन । 
    पछिल्लो समय कानुन विषय लिएर अध्ययन गर्ने विद्यार्थीहरुको संख्या थपिदै गएको अवस्थामा न्याय सेवाको विवाद, कानुन ब्यवसायीहरुको कुटाकुट, मुद्दाहरुको किनबेच, राजनीतिक स्वार्थ अनुकूलको फैसला, न्यायाधिशहरुले शुरु गरेको ट्रेड युनियन अधिकार जस्ता विषयले आम नागरिकहरुलाई न्यायप्रति विश्वास धमिलो हुँदै गएको एक कानुन ब्यवसायीले बताउनु भयो ।