2026 April 24/ 02:35: 10pm

    धुलिखेल/मानव कल्याण समाज (सेवा घर) को ब्यवस्थापन तथा सडकमा रहेका मानवहरुको उद्दार, ब्यवस्थापन र पुर्नस्थापनाका लागि नमोबुद्ध नगरपालिकाले ३ लाख रुपैया उपलब्ध गराएको छ । 
    अघिल्लो आर्थिक वर्ष १ लाख ५० हजार रुपैया सहयोग गरेको नमोबुद्द नगरपालिकाले चालु वर्षमा दुई किस्ता गरी ३ लाख उपलब्ध गराउने निर्णय मानव कल्याण समाजसँग सम्भ्mौता गरेको छ । सम्झौता बापतको पहिलो किस्ताको रकम बुधबार नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिना र प्रमुख प्रशासकिय अधिकृत राजन पौडेलले संस्थाकी संस्थापक अध्यक्ष सुमित्रा चौलागाईलाई हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले सडक मानवहरुको उद्धार र पुर्नस्थापनाका लागि नगरपालिकाले नियमित सहयोग गर्ने बताउनु भयो । मानव कल्याण समाजमा रहेकी बालिकालाई नातिनीको रुपमा अभिभावकत्व ग्रहण गर्नु भएका नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले सडकमा मानव आउनै नदिने अभियान शुरु गर्नु पर्ने बताउनु भयो । प्रमुख प्रशासकिय अधिकृत राजन पौडेलले पुण्य कर्म निरन्तर गर्न र त्यसमा सहयोग गर्ने अवसर प्राप्त गरेकोमा धन्यवाद दिनु भएको थियो । नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, बनेपा नगरपालिका वडा नम्वर ६ का वडा सदस्य कृष्णमणी कुईकेल लगायतले मानव कल्याण समाजले गरेको योगदानको चर्चा गर्नु भएको थियो । वडा सदस्य कृष्णमणी कुईकेलले मानव कल्याण समाजको अक्षय कोषका लागि रकम प्रदान गरी शुभारम्भ गर्नु भएको थियो । सोहि अक्षयकोषका लागि केयु योग केन्द्रको तर्फबाट आयोजना गरिएको देउसी भैलोबाट एक लाख भन्दा धेरै रकम संकलन भएको छ ।